खरीबोट

काठमाडौँ । आगामी माघ ९ गते सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यतालिका अनुसार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम सम्पन्न भएको छ ।

उम्मेदवारले नाम फिर्ता लिने समय विहिबार बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म निर्धारण गरिएकामा मनोनयनपत्र दर्ता गरेका कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता नलिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आज शुक्रबार पुस २५ गते बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिनको १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुन्छ । संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुदैंछ ।