खरीबोट

 

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुख चयनका विषय अब प्रतिष्ठाको विषय बनेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षा केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ-आफ्नो अडान नछोडेपछि शीर्ष नेताहरूनै मोर्चाबन्दीमा उत्रिएका छन् ।

अध्यक्षले आ-आफ्नो अडानका बारेमा दोस्रो तहका नेताहरुसँग छलफल तिब्र बनाएका छन् । यस बिचमा प्रधानमन्त्री ओली र प्रचण्डबीच पटक पटक छलफल भएपनि कुनै निष्कर्षमा पुगेका छैनन् ।

सभामुखको उम्मेदवारमा नेकपा भित्र विवाद बढेपछि प्रतिनिधिसभाको बैठक नै प्रभावित भएको छ । पौष २७ गते आइतबारसम्मका लागि संसद स्थगित गरिएको भएपनि अहिलेसम्म सभामुखको टुंगो अहिलेसम्म लगाएको छैन ।

यस अघि प्रतिनिधिसभाको पौष ११ गते शुक्रबारको बैठकबाट सभामुखको निर्वाचन कार्यतालिका घोषणा गर्ने तयारीमा रहेको संसद सचिवालय नेकपाले उम्मेदवार छनौट गर्न नसकेपछि बैठक नै स्थगित गर्नु परेको थियो ।

को को छन् दाबेदार ?

अहिलेसम्म सभामुखको दौडमा पुर्व सभामुख सुबास नेम्वाङ, वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसहित अग्नि सापकोटा, देव गुरुङको नाम चर्चामा रहेको छ । अहिले प्रधानमन्त्री सुबास नेम्वाङलाई सभामुख बनाउने पक्षमा रहेका छन् भने अर्का अध्यक्ष पुर्व सहमति बमोजिम पुर्व माओवादी पक्षले नै सभामुख पाउनुपर्ने दाबि गर्दै आएका छन् । प्रचण्डलाई उनी निकट पुर्व माओवादी नेताहरुले आफ्नो अडानमा कायम रहन दबाब दिदै आएका छन् ।

नेकपा भित्र सभामुखको पेचको अर्को पक्ष राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि जोडेर हेरिएको छ ।  नेकपाका पछिल्ला निर्णयहरुमा हस्तक्षेपकारी भूमिकाखेलेको आरोप लागिरहेका बेला राष्ट्रपतिले अहिलेकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउनु पर्नेमा आफ्नो धारणा राखेको बताइएको छ । सोहि कारणले पनि प्रधानमन्त्री ओलीले सभामुखका बारेमा निर्णय लिन असहज महसुस गरेको र केहि समय पर्ख र हेरको रणनितिमा रहेको बालुवाटार स्रोतले बताएको छ ।

यसै दाउपेचका कारण नै उपसभामुखको राजीनामा आउन ढिला भएको बताइएको छ ।  उपसभामुख तुम्बाहाम्फेले आफ्नो राजनीतिक भविष्य सुनिस्चित नभई राजीनामा नदिने शिर्ष नेताहरुलाई स्पष्ट बताएकाले पनि दुवै अध्यक्षले सभामुख बारे निर्णय गर्न समय लिएको बताइन्छ ।

छलफल तिब्र :

पछिल्लो पटक प्रधानमन्त्री ओली र प्रचण्डबीचको छलफलमा ओलीले आफ्नो अडान स्पष्ट गरेपछि प्रचण्डले ओलीलाई पार्टीको कार्यकारी अध्यक्ष बनेर पार्टी चलाउन र प्रधानमन्त्री आफुलाई छोड्न आग्रह गरेको बताइएको छ ।
अहिले अध्यक्षहरूले नै सभामुख पदलाई प्रतिष्ठाको विषय बनाएपछि यसले समग्र पार्टी र राष्ट्रिय राजनीतिमा असर गरेको देखिएको छ ।

यसैबीच नेकपा नेता बामदेव गौतमको निवासमा प्रचण्डले आफु निकट नेताहरुसँग छलफल गरेका छन् । यसलाई प्रधानमन्त्री ओलीविरुद्धको नयाँ मोर्चाबन्दीको रुपमा हेरिएको छ । पछिल्लो समय राष्ट्रिय सभा उम्मेदवार चयनको सचिवालय बैठकमा बामदेवको प्रस्तावलाई प्रधानमन्त्रीले अस्वीकार गरेबाट बामदेव सांसद बन्नबाट बन्चित भएका थिए । बामदेवले संबिधानमा संशोधन गरेर राष्ट्रिय सभाका सांसद पनि प्रधानमन्त्री बन्ने व्यवस्था गर्नुपर्ने बताएका थिए ।

अब सभामुख चयन प्रकरणमा नेकपाक दुवै अध्यक्षको अडानले अब दोस्रो तहका नेताहरु पनि अन्योलमा परेका छन् । ओली निकट एक नेताले खरीबोटसँग कुरा गर्दै अडान लिनु स्वाभाविक भएपनि छलफल जारी रहेकाले समय लागेको बताए ।

एमसिसीले विभाजित नेकपा :  

त्यस्तै अहिले चर्चामा रहेको अमेरिकी सहयोग नियोग एमसिसीका कारण पनि सभामुख चयन प्रक्रिया प्रभावित बनेको बुझिएको छ । अहिले एमसिसी सम्बन्धि प्रस्ताव संसदमा छ । पुर्व सभामुख कृष्णबहादुर महराले अगाडी नबढाएको आरोप स्वयं प्रधानमन्त्री ओलीले नै लगाएका थिए ।

अब अहिले आएर एमसिसीका बारेमा सत्ता पक्षकै नेताहरु नै विरोधमा उत्रिएपछि सभामुख चयन प्रक्रिया नै प्रभावित बनेको छ । प्रचण्ड एमसिसीका बारेमा सकरात्मक नरहेको र सभामुख मार्फत एमसिसीलाई रोक्ने पक्षमा रहेको देखिएको छ भने प्रधानमन्त्री ओलीले आफ्नो पक्षका सभामुख बनाएर एमसिसी पारित गराउने रणनितिमा रहेका छन् ।

एमसिसी बारे प्रतिपक्षी दल नेपाली काँग्रेस समर्थनमा आएको भएपनि नेकपानै विभाजित भएपछि यसले सरकार नै संकटमा परेको देखिएको छ ।

समग्र सभामुख प्रकरणमा नेकपाको अर्को बलियो समूह वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने मौन देखिएको छ ।