काठमाडौं । भारतले प्रतिबन्ध लगाएको पाम तेलको बारेमा नेपालले चासो देखाएको भन्दै भारतका मिडियामा आज चर्चा गरिएको छ ।

बुधबार भारतले पाम तेललाई आयात नगर्ने निर्णय गरेको थियो ।

सो प्रकरणले सबैभन्दा धेरै मलेसियालाई असर गर्ने भए पनि नेपाललाई पनि त्यसले असर गर्ने र नेपाली अधिकारीहरुले चासो दिएको भारतको ‘द हिन्दु’ दैनिकको अनलाइन संस्करणले जनाएको छ ।

नेपालबाट अघिल्लो वर्ष करिब साढे १० अर्ब रुपैयाँ बराबरको पाम तेल भारत निर्यात भएको थियो । भारतले लगाएको यो प्रतिबन्धले नेपाललाई  समते असर पर्ने भएको  छ ।

सो सम्बन्धमा नेपाल समेत इण्डोनेसियाले पनि चासो दिएको समाचारमा जनाइएको छ ।  नेपालका एक उच्च सरकारी अधिकारीलाई उद्धृत गर्दै हिन्दुको समाचारमा भारतले पाम तेलको निर्यातमा छुट दिने अपेक्षा नेपालले गरेको जनाइएको छ ।

ती अधिकारीले भारतसँगको दुईपक्षीय सहमतिअनुसार नेपालले  सामानहरु निर्यात गर्दै आएको र पाम तेलको बारेमा निर्णय गर्दा भारतका तर्फबाट यसबारेमा ध्यान दिइने अपेक्षा गरिएको जनाएका छन् ।

भारतीय मिडियामा भारतले लगाएको प्रतिबन्ध मलेसियातर्फ लक्षित रहेको चर्चा चलेको बेलामा भारतको वाणिज्य तथा उद्योग मन्त्रालयका अधिकारीले प्रतिबन्ध कुनै एउटा मुलुकसँग मात्रै सम्बन्धित नरही यो उत्पादनको आयातमा लगाइएको प्रतिबन्ध भएको स्पष्ट पारेका छन् ।

यसको अर्थ नेपालसमेत पाम तेल भारत पठाउने जुनसुकै देशलाई यो प्रतिबन्ध लागेको संकेत गरिएको छ ।   समाचारमा नेपाल र इण्डोनेसियाका अधिकारीहरुले त्यसबाट पर्न सक्ने असरका बारेमा अध्ययन गरिरहेको जनाएको समेत समाचारमा उल्लेख  छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले यस्तो निर्णय आउनुमा राजनीतिक सम्बन्धको कारण पनि एउटा फ्याक्टर हुन सक्ने संकेत गरेका छन् ।

हालै काश्मीर र भारतीय नागरिकता विधेयकका बारेमा मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले आलोचना गरेपछि भारतको विदेश मन्त्रालयले वक्तव्य जारी गरी आपत्ति जनाएको थियो ।

तर, नेपालसँग पछिल्लोपटक भारत किन चिढियो भन्ने कुरा खुलेको छैन ।

तर, ‘द प्रिन्ट’ अनलाइनले निकालेको अर्को समाचारमा भने भारतकै वाणिज्य तथा उद्योग मन्त्रालयका अधिकारीहरुलाई उद्धृत गर्दै यो प्रतिबन्ध मलेसियाका लागि मात्रै लगाइएको जनाइएको छ ।

ती अधिकारीले कुनै एउटा देशको मात्रै नाम राखेर सूचना निकाल्न  अन्तर्राष्ट्रिय व्यापारिक मापदण्डअनुसार नमिल्ने भएर यसरी समग्रमा सूचना निकालिएको जनाएका छन् ।

उनले नेपाल र इण्डोनेसियाबाट जाने पाम तेललाई प्रतिबन्ध नलगाइने तर ‘केश टु केश ’का आधारमा लाइसेन्स जारी गरिने जनाएका छन् ।

भारतीय मिडिया भन्छन्–मलेसियासँग बदला

भारतमा पाम तेलको सबैभन्दा ठूलो निर्यातक देश मलेसिया हो । मलेसियाले काश्मीर मामिला र नागरिकता कानुनमा हालै आलोचना गरेको बदलास्वरुप भारतले यो नीति लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतको वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रकाशित गरेको सूचनामा  पहिला फ्रि रहेको सो तेलको आयातलाई अब प्रतिबन्ध लगाइएको जनाइएको थियो ।

रोयटर्सले भारतको मुम्बईबाट बनाएको समाचारमा जनाइएअनुसार चारवटा उद्योग सम्बद्ध स्रोतले पाम तेलमा प्रतिबन्ध लगाउनुको अर्थ अब भारतले कच्चा पाम तेल मात्रै ल्याउन सक्नेछ । यसले मलेसियालाई ठूलो प्रहार गर्ने ती उद्योगको भनाइ रहेको छ । भारतमा पाम तेल र पाल्मोलीनको मुख्य निर्यातक मुलुक मलेसिया हो ।

तर, यसले इण्डोनेशियालाई मद्यत गर्नेछ । किनकि कच्चा पाम तेलको सबैभन्दा ठूलो निर्यातक इण्डोनेसिया हो ।

भारतका उद्योगीहरुका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले मलेसियालाई कसरी ‘हिट’ गर्ने भनेर हालै योजना बनाइरहेको थियो ।

मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदको भनाइलाई लिएर भारतको विदेश मन्त्रालयले वक्तव्य नै जारी गरेर विरोध गरेको थियो ।

महाथिरले काश्मीर मामिलामा भारतको आलोचना गर्नुका साथै नागरिकता कानुनको पनि विरोध गरेका थिए ।

भारतको कच्चा पाम तेल, सोयाबिन तेललगायतको भाउ बढेको छ । यसले मलेसियालाई सजाय हुनुका साथै स्थानीय रिफाइनर्सलाई मद्धत गर्ने मुम्बईका एक रिफाइनरले नाम उल्लेख नगर्न आग्रह गर्दै भनेका छन् ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले भने यसबारेमा विस्तृत रुपमा बताइसकेको छैन । मलेसियाका आधारभूत उद्योग सम्बन्धी मन्त्री टेरेसा कोकले पनि भारतको नयाँ निर्णय बारेमा बोल्न अस्वीकार गरेका छन् । रिफाइन गरिएको पाल्म तेल उत्पादन गर्ने मलेशियापछि इण्डोनेशिया मुख्य देश हो ।

बिजनेश स्टयान्डर्डले जनाएअनुसार भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि त्यसको असर सबैभन्दा ठूला उत्पादक मलेसिया र इण्डोनेसियाबीच ‘प्राइस वार’को अवस्था सिर्जना भएको छ ।

पाम अइल रिफाइनर्स एशोसिएसन अफ मलेशियाले सो कुरा  जनाएको हो ।

टाइम्स अफ इन्डियाले जनाएअनुसार भेजिटेबल तेल आयात गर्नमा भारत अगाडि छ ।

उसले वार्षिक रुपमा करिब १५ मिलियन टन तेल आयात गर्छ । यसमा पाम तेल ९ मिलियन टन पर्दछ ।

बाँकी ६ मिलियन सोयबिन र सनफ्लावर तेल आयात गर्ने गरेको छ । मलेशियाले वर्षमा १९ मिलियन टन पाम तेल वार्षिक रुपमा उत्पादन गर्ने गरेको छ ।

भारतले मलेसियाको पाम तेललाई रोक्न नयाँ नीति लिएको बताइए पनि नेपाललाई पनि त्यसले असर गर्ने भएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल भारत निर्यात गरेको थियो ।  (एजेन्सीको सहयोगमा)