काठमाडौँ — राप्रपाले राप्रपा(संयुक्त) लाई पार्टी एकताका लागि आहृवान गरेको छ । शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको सो पार्टीलाई एकतामा आउन आहृवान गरेको हो ।

‘समान विचार भएका व्यक्ति, समूह र दलसँग एकीकृत शक्ति निर्माण गर्न आहृवान गर्दै पशुपतिशमशेर राणा र डा. प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)लाई एकताको लागि आव्हान गर्दछ,’ प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बैठकले पुस २७ गते राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन राष्ट्रिय बिदा दिन सरकारसँग माग गर्ने निर्णय गरेको छ। दिवस मनाउनका लागि पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा समिति समेत गठन गरिएको श्रेष्ठले बताए। विकास र सहयोग सम्बन्धि अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँगको अनुदान सहायता सम्झौता प्रस्ताव तत्काल संसदबाट पारित गर्न बैठकले माग गरेको छ।

नेपालले लाभ लिन सक्ने सम्झौता पारित गर्न ढिलाइ गरिनु आश्चर्यजनक रहेको राप्रपाको भनाइ छ। १४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा पार्टीको पराजय कमजोर सांगठनिक संरचना नै मूख्य कारक रहेको ठहर गरेको छ।