काठमाडौँ- नेपाली कांग्रेसले सीमावर्ती क्षेत्रमा सय रूपैयाभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लिने सरकारको कदमप्रति आपत्ति जनाएको छ। सय रूपैयाँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगको वस्तुमा अनिवार्य भन्सार शुल्क लिनु जनविरोधी काम भएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो।

‘यस्ता घटना वा सरकारी व्यवहारहरू जनविरोधी, अव्यावहारिक र असंवेदनशीलमात्र होइन, वर्तमान आर्थिक संकटका बीच जनताको ढाड सेक्ने अर्को बोझ हो,’ कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति निकालेर भनेका छन्।

सरकारको यो कदमका कारण सीमावर्ती क्षेत्रका लाखौँ सर्वसाधारण, ज्यालादारी मजदुर, साना किसान तथा निम्न आय भएका परिवार प्रभावित भएको कांग्रेसले जनाएको छ।

‘खुला सीामाको अवस्थाका कारण सीमावर्ती क्षेत्रका नागरिकहरूले दैनिक उपभोग्य वस्तुहरू भारतबाट सस्तो मूल्यमा ल्याएर जीवन निर्वाह गर्दै आएका छन्,’ विज्ञप्तिमा भनिएको छ,‘विशेषगरी मधेश प्रदेशका लाखौँ सर्वसाधारण ज्यालादारी मजदुर, साना किसान तथा निम्न आय भएका परिवार यस निर्णयबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।’

डिजेलको मूल्य उच्चसतरमा पुगेको अवस्थामा दुई तीन सय रूपैयाँको सानो खरिदमै अतिरिक्त शुल्क लगाउनु जनताको क्रयशक्ति कमजोर पार्नु मात्र नभए गरिबीलाई संस्थागत गर्ने नीतिगत कदम रहेको कांग्रेसको ठहर छ।

राजस्व वृद्धिका नाममा सरकारले गरिबको भान्सामा कर लगाउन मिल्न कि नमिल्ने भनेर कांग्रेसले प्रश्न गरेको छ।