कहिले छान्छ कांग्रेसले संसदीय दलको नेता?
काठमाडौँ- नेपाली कांग्रेसले वैशाख पहिलो साता संसदीय दलको नेता चयन गर्न निर्वाचन गर्ने भएको छ। संसदको पहिलो अधिवेशन अन्त्य भइसकेपछि प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसले दलको नेता चयन गर्न लागेको हो।
वैशाखको पहिलो साता दलको नेता चयन हुने बताइएको छ। वैशाख २ गते प्रक्रिया सुरू गरेर पहिलो साताभित्र दलको नेता चयन गर्ने तयारी गरिएको छ।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूले संसदीय दलको नेता चयन गरिसके पनि कांग्रेसले हालसम्म प्रक्रियासमेत सुरू गरेको छैन।
आकांक्षी बढी भएका कारण दलको नेता चयन गर्न सकस भएको नेताहरूले बताएका छन्। संसदीय दलको नेताका लागि भिष्म आङ्देम्बे, अर्जुननरसिंह केसी, मोहन आचार्य, निश्कल राई, भरतबहादुर खड्कालगायतका नेताहरू आकांक्षी देखिएका छन्।
प्रतिनिधिसभामा १८ जना प्रत्यक्ष र समानुपातिक २० जना गरी कांग्रेसका ३८ सांसद छन्। जसमध्ये सभापति गगन थापा समूहका १६, देउवा समूहका १५ र शेखर कोइराला समूहका ७ जना सांसद छन्।




प्रतिक्रिया दिनुहोस्