संसद् बैठक सुरु हुँदै, तीन अध्यादेश पेस हुँदै
काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आज (बिहीबार) देखि प्रारम्भ हुँदैछ। सिंहदरबास्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। संसद्का बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। संघीय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा) को बैठक भने संघीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ ।
राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपतिसमक्ष बुझाएको थियो ।
आजको बैठकमा तीन अध्यादेश पेस हुँदैछन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।




प्रतिक्रिया दिनुहोस्