नेपालगञ्जमा मनाइयो इद उल फित्र
नेपालगञ्ज- मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थानमा कोही छाता ओढेर, कोही पानीमा भिजेर मुस्लिम धर्मावलम्बीले नेपालगञ्जको बिपीचोकस्थित इदगाहमा इद उल फित्र मनाएका हुन् ।
यस वर्ष पर्वको अघिल्लो दिनदेखि वर्षा भइरहेकाले अघिल्ला वर्षको जस्तै सडकसहित खुला स्थानमा घुइँचो नभए पनि मस्जिदमा मुश्लिम धर्मावलम्बीको घुइँचो लागेको थियो । इदगाहको भित्रपट्टीको खुला स्थानमा केहीले छाता ओढेर र केहीले पानीमा भिजेर नमाज पाठ गरेका थिए।
अरबी पात्रो हिजरी संवत्अनुसार नवौँ महिनामा निराहार व्रत गरेका मुस्लिम समुदायले नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउने चलन छ । यस अवसरमा नमाज पढेपछि खुसी साटासाट गर्दै बाँके क्षेत्र नं २ का प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य मोहम्मद इस्तियाक राईले एक महिनाको व्रतपछि आज पर्व मनाइएको बताए।
मुश्लिम समुदायमा विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने चलन छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मिष्ठान्न भोजन गराउने प्रचलनसमेत रहेको छ ।
खुसीपूर्वक दानगरी दुःखी तथा गरिबलाई बाँडिने भएकाले यसपर्वलाई इद उल फित्र भनिएको हो । यसबाहेक नेपालगञ्जका अन्य मस्जिद तथा इदगाहमा पनि विशेष नमाज पाठ गरिएको थियो । एक महिनादेखि मुस्लिम समुदायको लामो व्रत (रोजा) सुरु भएको थियो ।




प्रतिक्रिया दिनुहोस्