[सम्पादकीय] न्यायको कसीमा निर्वाचन : अब पालो मतदाताको
आज २०८२ फागुन २१ गते। नेपाली राजनीतिको एउटा नयाँ बिहानी। आज देशभर भइरहेको यो निर्वाचन केवल एउटा प्राविधिक प्रक्रिया मात्र होइन, यो त गत भदौमा सडकबाट उर्लिएको ‘जेन-जी’ युवाहरूको आक्रोश र परिवर्तनको चाहनाबाट प्राप्त भएको एउटा ऐतिहासिक अवसर हो। आजको मतदान पुराना विसंगतिहरूलाई बिदाइ गरेर नयाँ र स्पष्ट मार्गचित्र कोर्ने एउटा निर्णायक घडी हो।
यस पटकको निर्वाचनको कमान कसको हातमा छ? यो प्रश्न नै आजको सबैभन्दा ठूलो भरोसाको आधार हो। अन्तरिम प्रधानमन्त्री सुशीला कार्की, जो आफ्नो निष्ठा र ‘फलामको मेरुदण्ड’ भएको व्यक्तित्वका रूपमा चिनिनुहुन्छ, उहाँको नेतृत्वमा यो निर्वाचन हुनु नै आधा विजय हो। प्रधानन्यायाधीश रहँदा महाभियोगको धम्कीसँग नडराएकी र भ्रष्टाचारविरुद्ध खरो रूपमा उभिएकी एउटी ‘निडर’ छविले आज सरकारको नेतृत्व गर्दा मुलुकले पहिलो पटक एउटा साँचो र निष्पक्ष अभिभावक पाएको छ।
सुशीला कार्कीले केवल ६ महिनामा प्रमाणित गरिदिनुभयो कि- यदि नेतृत्वको नियत सफा छ भने, जस्तोसुकै जटिल राजनीतिलाई पनि संवैधानिक लिकमा ल्याउन सकिन्छ। उनको यो छोटो कार्यकालले सत्ताभन्दा सत्य र विधि ठूलो हुन्छ भन्ने भाष्य स्थापित गरेको छ। उनी केवल नेपालको पहिलो महिला प्रधानमन्त्री बनिनन्, बरु एउटा यस्तो मानक स्थापित गर्नुभयो जहाँ ‘प्रधानमन्त्री’ शब्दको अर्थ केवल कुर्सी ओगट्नु होइन, बरु संकटमा देशलाई सही निकास दिनु हो।
आजको मतदान केवल एक थान प्रतिनिधि छान्नका लागि मात्र होइन। यो त सुशीला कार्की जस्ता निष्पक्ष पात्रहरूले जोगाइदिएको विधिको शासनलाई निरन्तरता दिनका लागि हो। आफ्नो विवेक प्रयोग गर्नुहोस्, किनकि आजको एक मतले भोलिको नेपालको संविधान र सुशासनको जग बसाल्नेछ। डराउनु पर्ने केही छैन, किनकि आज ‘न्याय र निष्ठा’ आफैंले यो निर्वाचनको पहरेदारी गरिरहेको छ।




प्रतिक्रिया दिनुहोस्