नेपालमा वैदेशिक लगानीको लहर
काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य सुधार आएको छ।
सरकारले यस अवधिमा कुल ५२४ परियोजनाका लागि ४० अर्ब २८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.०७ प्रतिशतले बढी हो।
अघिल्लो वर्ष ३८६ परियोजनामार्फत २६ अर्ब ८४ करोड रुपैयाँ मात्र प्रतिबद्धता प्राप्त भएको थियो । उद्योग विभागको तथ्याङ्कअनुसार कुल स्वीकृत परियोजनामध्ये ३५१ वटा स्वचालित प्रक्रियाबाट र बाँकी १७३ वटा परम्परागत प्रक्रियाबाट अनुमोदन भएका छन्, जसबाट करिब २० हजार ८९६ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ ।
माघ महिनामा मात्रै १ अर्ब ४ करोड रुपैयाँ बराबरका ४९ परियोजना स्वीकृत भएका छन् जसमा ४० करोड ९५ लाख रुपैयाँ स्वचालित र ६० करोडभन्दा बढी परम्परागत प्रणालीमार्फत आएका हुन् ।
यसैगरी समीक्षा अवधिमा ३४ वटा शेयर खरिद तथा सदस्यता सम्झौता र ३३ वटा प्रविधि हस्तान्तरण सम्झौता समेत अनुमोदन भएका छन् । लगानीको क्षेत्रगत वर्गीकरण हेर्दा संख्यात्मक रूपमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा धेरै २८८ परियोजना स्वीकृत भए तापनि लगानीको परिमाणका हिसाबले कृषि तथा वन क्षेत्र सबैभन्दा आकर्षक देखिएको छ ।
कृषि क्षेत्रमा मात्रै २१ अर्ब ९१ करोड रुपैयाँको प्रतिबद्धता आएको छ भने पर्यटन क्षेत्र १० अर्ब ८६ करोडसहित दोस्रो स्थानमा छ । यसबाहेक सेवा, उत्पादनमूलक, ऊर्जा र खनिज क्षेत्रमा पनि विभिन्न परिमाणमा वैदेशिक लगानीको प्रस्ताव स्वीकृत भएको छ ।




प्रतिक्रिया दिनुहोस्