काठमाडौँ- सरकारले चालू आर्थिक वर्षको बजेट खर्चको संशोधित अनुमान सार्वजनिक गर्दै विनियोजित बजेटको आकारमा १४.०४ प्रतिशतले कटौती गरेको छ।

अर्थ मन्त्रालयले मंगलबार चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सुरुमा विनियोजन गरिएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेटलाई संशोधन गरी १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाखमा झारेको हो।

संशोधित बजेट अनुसार चालू खर्चतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड, पुँजीगततर्फ २ खर्ब ४३ अर्ब ३० करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १९ अर्ब ४ करोड रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ।

बजेटको स्रोततर्फ सरकारले चालू वर्षको अन्त्यसम्ममा आफ्नै स्रोतबाट १५ खर्ब १५ अर्ब ३७ करोड १४ लाख रुपैयाँ संकलन हुने अनुमान गरेको छ। त्यसैगरी वैदेशिक अनुदानतर्फ ३० अर्ब ९९ करोड ९८ लाख र वैदेशिक ऋणतर्फ १ खर्ब ४१ अर्ब ९५ करोड ५५ लाख रुपैयाँ परिचालन हुने संशोधित अनुमान रहेको मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री रामेश्वर खनालले देशमा भएको पछिल्लो राजनीतिक विकासक्रम, जेनजी आन्दोलन र त्यसपछिको संक्रमणकालका कारण राज्यको ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने भएकाले पुँजीगत खर्चमा वृद्धि हुन नसकेको स्पष्ट पारे।

अर्थमन्त्री खनालले आगामी निर्वाचनका लागि सरकारले २० अर्ब रुपैयाँभन्दा बढी रकमको प्रबन्ध गरिसकेको जानकारी दिए। निर्वाचनका लागि आवश्यक स्रोत जुटाउन यसअघि रोक्का गरिएका बजेटमध्ये केही रकम फुकुवा भइसकेको समेत उनले बताए।

आयोजना कार्यान्वयनमा देखिएका जटिलताका कारण पर्याप्त खर्च हुन नसकेको स्वीकार गर्दै मन्त्री खनालले बाँकी अवधिको भुक्तानी प्रक्रिया र बजेट कार्यान्वयनका समस्याहरू समाधान भइरहेको दाबी गरे। उनले हरेक वर्ष बजेट बनाउँदा भुक्तानी बाँकी रहने परिपाटीले कार्यान्वयनमा दीर्घकालीन समस्या देखिएको औँल्याए।

वित्तीय हस्तान्तरणको सम्बन्धमा समीक्षा अवधिसम्म प्रदेशले कुल विनियोजनको ३९.१४ प्रतिशत अर्थात् ३८ अर्ब १८ करोड ७२ लाख रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै स्थानीय तहमा विनियोजित बजेटको ४७.६० प्रतिशत अर्थात् १ खर्ब ५२ अर्ब ४६ करोड ४ लाख रुपैयाँ हस्तान्तरण भएको अर्थ मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। बजारमा बढ्दो मूल्यवृद्धिलाई नियन्त्रण गर्न नियमनकारी निकायहरूलाई सक्रिय बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत अर्थमन्त्रीले बताए।