प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन

९ जेठ, काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले करिब दुई महिना लामो अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले अनुसन्धान फाइल आएको पुष्टि गर्दै भने, ‘फाइल (प्रतिवेदन) आइपुगेको छ । आजै दर्ता गर्ने तयारी थियो । तर समय अभावले नभ्याइएकाले अब आइतबारमात्रै दर्ता गर्छौं ।’
प्रहरीको अनुसन्धान फाइल अध्ययन गरेपछि कसलाई के मुद्दा लगाउने भन्ने यकिन गरेर मुद्दा दर्ता गर्नुपर्ने शर्मा बताउँछन् । साथै, प्रतिवादीको संख्या पनि धेरै भएकाले आज दर्ता गर्न नभ्याइएको उनको भनाइ छ ।
यो घटनामा १ सय ८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको फाइल प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ । पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रहरीको उक्त अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि कसलाई कस्तो मुद्दा चलाउने, को–को प्रतिवादी हुने भन्ने यकिन टुंगो भने सरकारी वकिल कार्यालयले लगाउनुपर्ने छ । संगठित अपराधको कसुरमा पक्राउ परेको मितिले ६० दिनभित्र मुद्दा अदालतमा पुगिसक्नु पर्नेहुन्छ । १५ जेठ अघि नै काठमाडौं जिलला अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने हुन्छ । जसकारण आइतबार मुद्दा दर्ता गरिने सरकारी वकिल कार्यालयले जनाएको छ ।
मुद्दा चलाउनु पर्ने राय दिइएका मध्ये अहिले ५३ जना हिरासतमा छन् । बाँकी केही पक्राउ पर्न बाँकी छन् भने केहीलाई भने हिरासत बाहिरै राखेर अनुसन्धान गरिएको छ ।
जसमध्ये राप्रपा महामन्त्री धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत भाटभटेनीका फलफूल टिप्ने केहीलाई भने हाजिरी जमानीमा हिरासत बाहिरै राखेर अनुसन्धान गरिएको छ । अदालतमा मुद्दा पुगेपछि उनीहरूलाई अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
१५ चैत २०८१ राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमाण्ड भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । प्रदर्शन हिंसात्मक बनेको थियो ।
हिंसात्मक प्रदर्शनको राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राणा र वरिष्ठ उपाध्यक्ष मिश्रलाई पक्राउ गरेको थियो ।
ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचाररत प्रदर्शनका घाइते भेटेर फर्केने क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र सांसद राणा पक्राउ परेका थिए । मुख्य कमाण्डर भनिएका प्रसाईंलाई भने भारतबाट पक्राउ गरेर लयाइएको थियो ।
ठूलो संख्यामा प्रतिवादी बन्ने भएपछि परिसरले थप चार युनिटबाट अनुसन्धान अधिकृत मगाएर अनुसन्धान गरेको थियो । यो घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय रानीपोखरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर ललितपुरबाट थप टोली मगाएर अनुसन्धान गरेका थिए । Source :- Onlinekhabar
प्रतिक्रिया दिनुहोस्