काठमाडौंँ । श्रीलंकाका स्टार अलराउन्डर वानिन्दु हसरंगा बंगलादेशविरुद्धको टेस्टमा खेल्न नपाउने भएका छन । बंगलादेश विरुद्धको तेस्रो एकदिवसीय खेलमा अम्पायरको निर्णयमा असहमति जनाएका हसरंगालाई तीन डिमेरिट अंक दिइएको थियो जसका कारण उनलाई दुई टेष्ट खेलको प्रतिबन्ध लगाइएको छ ।

लेग स्पिनर हसरंगा टेस्ट क्रिकेटबाट सन्यास लिएर पुनः फर्किएका थिए । र बंगलादेशमा हुने दुई खेलको शृङ्खलाका लागि १७ सदस्यीय टोलीमा परेका थिए ।

श्रीलंका र बंगलादेशबीचको टेष्ट सिरिज २२ मार्चदेखि ३ अप्रिलसम्म चल्नेछ । पहिलो टेस्ट मार्च २२ बाट सिलहटमा तथा दोस्रो खेल ३० मार्चबाट चटगाउँमा हुनेछ ।

बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा अम्पायरको निर्णयमा असहमति जनाएकामा उनको आधा म्याच शुल्क काटिनुका साथै तीन डिमेरिट अंक दिइएको थियो। अब हसरंगाले २४ महिनामा ८ डिमेरिट अंक पाएका छन्, जसलाई चार सस्पेन्सन पोइन्टमा परिणत गरिएको छ ।

आईसीसीको नियम अनुसार कुनै खेलाडीले २४ महिनाभित्र चारवटा निलम्बन अंक पाएमा २ टेस्ट वा ४ ओडिआई वा ४ टी–२० अन्तर्राष्ट्रिय खेलमा स्वतः प्रतिबन्ध लगाइन्छ । हसरङ्गाले सजायविरुद्ध पुनरावेदन गर्न सक्नेछन् । यदि आईसीसीले हसरंगाको अपील अस्वीकार गर्छ भने, यसको मतलब उनी टेस्ट सिरिज खेल्न सक्ने छैनन्।

हसरंगाले आफ्नो एकदिवसीय र टी–२० करियरमा ध्यान केन्द्रित गर्न सन् २०२३ अगस्टमा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। टी–२० विश्वकप अघि एक वर्ष भन्दा कम समय, उनी छोटो ढाँचाको क्रिकेटमा राष्ट्रिय टोलीको कप्तान बने।

हसरंगाले सन् २०२० मा दक्षिण अफ्रिकाविरुद्ध टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। उनले चार टेस्ट खेल मात्रै खेलेका थिए जसमा उनले चार विकेट लिएका थिए । हसरंगाले आफ्नो अन्तिम टेस्ट खेल सन् २०२१ मा बंगलादेशविरुद्ध पल्लेकेलेमा खेलेका थिए।

हसरंगाले श्रीलंकाका लागि अहिलेसम्म ५४ एकदिवसीय र ५८ टी–२० खेलिसकेका छन् । उनले एकदिवसीय खेलमा ८ सय ९५ रन बनाउदै ८४ विकेट लिएका छन। जहाँ उनले टी–२० मा फिनिशरको भूमिका खेल्दै ६ सय ५० रन बनाउने क्रममा १ सय ४ विकेट लिएका छन् ।