नेपाली कांग्रेसका पूर्व सांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

सोही प्रकरणमा पक्राउ परेकाहरुसँग पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पामाथि थप अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो । उनलाई पक्राउ गर्नका लागि शुक्रवार नै जिल्ला अदालत, काठमाडौँबाट अनुमति लिइएको छ ।

तर, शेर्पा सो घटना सार्वजनिक भएपछि मोबाइल अफ गरी फरार भएका छन् । उनको प्रहरीले शुक्रबारदेखि खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन । सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो ।