काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर केही घटेको र निकट भविष्यमा ब्याजदर थप घट्ने बताएका छन् । सोमबार बिहान मौलाकालिका केवलकार प्रालिद्वारा निर्मित मौलाकालिका केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्रीले आफ्नै पहलमा बैंकहरूले ब्याजदरमा कमि ल्याएको र वैशाख महिनाभित्रै ब्याजदरमा थप सुधार ल्याउने गरी काम भइरहेको बताए ।

‘केही महिनाअघिसम्म व्यवसायीहरू निकै ठूलो संकटमा थिए,अहिले त्यसमा क्रमशः सुधार आउँदैछ, बैंकको ब्याजदर केही घटेको छ, यो महिनाभित्र थप केही घट्छ,’ उनले भने ।

उनले आफुले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा पनि अर्थतन्त्र अप्ठ्यारोमै रहेको बताउँदै अहिले ठूलो मेहेनत गरेपछि सुधार धारणा राखे । उनले आफ्नै पहलमा ७.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको बताए ।

‘उत्पादन र रोजगारीमा लगानी केन्द्रित नगरी समृद्धि र विकासको लक्ष्य हासिल गर्न सकिँदैन, त्यसैले सरकारको नीति, कार्यक्रम र बजेटलाई त्यतातर्फ केन्द्रित गर्न खोजेका छौं, अर्थतन्त्र लयमा फर्किन थालेको छ, यसले उत्साहजनक नतिजा दिने मैले विश्वास लिएको छु, अर्थतन्त्रमा राम्रो सुधार ल्याएर, देशले सम्झिनलायक केही कामहरू गरेर सहमतिअनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने इच्छाका साथ काम गरिनेछ,’ उनले भने ।