कोहलपुर डेस्क

कोहलपुरमा अहिले सामाजिक सञ्जालको प्रयोगबाट विभिन्न ढंगको बहसहरुले स्थान पाइरहेका छन् । यसको प्रयोग र विकासले समाजमा राजनैतिक, सामाजिक लगाएत विभिन्न पक्षहरुमा फेरबदल ल्याई पुराना मान्यताहरु भत्किदै नयाँ सोचको व्यापक रुपमा फैलावट भैरहेको छ । सामाजिक सञ्जालमा आफ्ना विचार, भावना र अनुभव आदान प्रदान गर्ने, नयाँ कुरा सिक्ने, समाजमा जनचेतना बढाउन र वृहत्तर हितमा यसको प्रयोग गरे अत्यन्तै लाभादायी हुने देखिन्छ ।

तर कोहलपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष लाल बहादुर राना तथा पूर्व वडा अध्यक्ष रेशम खत्री बीच सामाजिक सञ्जालमा भनाभनमै उत्रिएका छन् ।

हिजो आइतबार वडा अध्यक्ष रानाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत लेख्छन् –समृद्ध कोहलपुर, नमुना वडा बनाउन तपाई हामी सबैको जिम्मेवारी हो तसर्थ यति वेला संघ, प्रदेश सरकारमा योजना पेश गर्ने समय भएको हुँदा सम्पूर्ण राजनीतिक दल, विकास प्रेमी महानुभाव, कर्मचारी प्रबुद्ध व्यक्तिहरुलाई आ–आफ्नो ठाउँबाट नगर, वडाको समग्र विकासका लागि नगर र वडामा ठुला योजनाहरु भित्र्याउन पहल कदमी गरि समृद्ध कोहलपुर र नमुवा वडा बनाउन सहयोग गरिदिनुहुन अनुरोध गरेका थिए ।

वडा अध्यक्ष रानाको अनुरोधको प्रतिक्रिया दिँदै पूर्व अध्यक्ष रेशम खत्री लेख्छन् – योजनाहरु भित्र्याएर के हुन्छ र अध्यक्ष ज्यू, हजुरहरुको स्थानिय सरकार तपाई असफल भैसक्नु भएको छ । भित्र्याएका योजनाहरु अलपत्र पार्नुभएको छ बरु अझै केही समय छ । खानेपानी टोल नयाँ बस्ती सितल नगर झर्कटी मन्नापुर रिंग रोड, सरस्वती मा.वि भवन र सरस्वती चोक झर्कटी सडक सवै योजना अलपत्र परेका छन्, यिनै योजनाहरुलाई ताकेता गरेर काम गराउन नत्र भने तपाई सरकारलाई ८ नं बासिले धिकार्ने छन सवै जोड्दा करिब ५ करोड बजेट हो यो समयमा ख्याल गर्न अनुरोध गरेका छन् ।

वडा अध्यक्ष राना र पूर्व वडा अध्यक्ष खत्री वीच भएको क्रिया प्रतिक्रिया यतिकैमा रोकिदैन । पुर्व अध्यक्ष खत्रीको प्रतिक्रिया पुनः रानाले आफ्नो विचार राख्छन् – सफल र असफलको हिसाव जनताले राख्लान् र राखेका पनि छन् । यी योजना हजुरकै पालामा टेन्डर भएका हुन र बजेट पनि हजुरकै पालामा फितौ भएको हैन र हामीले हजुरहरुकै पालामा टेन्डर भएका योजनालाई निरन्तरता दिँदा कहाँ नीर असफल भैयो योजना सम्पन्न हुँदा हजुरले जस लिने असफल हुँदा हामीले अपजस लिने हुन्छ ? हजुर जिम्मेवार व्यक्ति पनि हो हामी पनि फिल्डैमा छौं केही गर्ने हुट हुटी हामीमा पनि छ सहयोग गर्नुस वडा सबैको सहयोगले बन्ने हो भनि लेख्छन् ।

यस्तै पुनः पूर्व वडा अध्यक्ष खत्रीले जवाफमा आफ्नो प्रतिक्रिया दिँदै लेख्छन् – लाचारी कुरा नगर्दा हुन्छ अध्यक्ष ज्यू, मेरो पालामा फिर्ता भएको हो भने एउटा मात्र फाइल सञ्जालमा हालिदिनु म यो गाउँ त के यो देश पनि छोडिदिँउला । अलि लाज लाग्यो कि भन्ने कडा जवाफ दिएका छन् ।

उक्त सञ्जालमा अनुरोध गरिएको विषयमा अन्य थुप्रै व्यक्तित्वहरुले पनि आफ्नो प्रतिक्रिया दिएका छन । दिपक योगी लेख्छन् – के को हुटहुटी चलिराख्या छ , हामीले देख्या हो ५ लाख लाई १५ लाख बनाएको भनि एक आयोजनाको सूचना पार्टीको फोटो सार्वजनिक गर्दै लेखेका छन् । साथै यही विषयमा किरण परियार लेख्छन् – विकास भनेको त यस्तो हुनुपर्छ, टोटल्ली क्रप्सन ।

स्थानीय कुमार उप्रेती लेख्छन् कोहलपुर मेनरोड देखी झन्हवा चोक र नहर सम्म अन्धकार छ है भनि जानकारी समेत गराएका छन् । उनले दुर्घटना चोरी बढ्दै गएकोमा राती सडक वत्ति बाल्नु पर्ने भन्दै सचेत गराएका छन् ।

अध्यक्ष राना र खत्री विच भएको क्रिया प्रतिक्रियाको स्क्रिन सट जस्तैको त्यस्तै आम पाठकहरुका लागि न्यूज नमस्ते अनलाइनले जस्ताको त्यस्तै समावेश गरिदिएका छौं ।

सञ्जाललाई सूचना प्रणाली प्रयोग गर्दा मर्यादा, शिष्टता र सामाजिक सद्भावको कुरालाई मनन गरेर अघि बढौं । सामाजिक सञ्जाल र सूचना प्रणालीले समाजलाई जोड्ने र सकारात्मकता तर्फ लैजान सबैको उत्तिकै दायित्व र जिम्मेवारी छ ।