काठमाडौं । नेकपा (एमाले) का सांसद विष्णु पौडेलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमणप्रति सरकार मौन समर्थक बनेको आरोप लगाएका छन् । 

आजको प्रतिनिसभा बैठकमा उनले सरकारबाटै आक्रमणका लागि उक्साएको आरोप लगाए । वैशाख १३ गते झापामा पार्टीका कार्यकतामाथि भेटघाटको क्रममा ओलीमाथि सांघातिक आक्रमण भएको बताए । साथै, ओली पाँचथरमा अझै पनि कार्यक्रमहरु बिथोल्ने प्रयास भइरहेको बताए । 

“सरकार यो आक्रमणप्रति सरकार किन मौन समर्थक बनिरहेको छ ? आक्रमणकारीलाई उक्साउने काममा पनि सरकारका कतिपय पात्रहरू संलग्न छन् भनेर सुनिरहेको छु,” उनले भने, “यो आक्रमणमा सत्ता पक्षका कार्यकर्ता रहेको सुचना आएको छ ।” 

शान्ति सुरक्षाका विषयमा सरकारले नालायकीपन प्रस्तुत गरेको आरोप लगाए । उनले घाइते भएका प्रहरीको उपचार गर्न सरकारले ध्यान नपुर्‍याएको भन्दै उपचारको माग पनि गरे । पौडेलले आक्रमणमा संलग्नहरूलाई गिरफ्तार गरी कारबाही गर्न माग गरे । 

पौडेलले घटनाप्रति गृहमन्त्रीको जवाफले नपुगेको बताउँदै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । उनले सांघातिक आक्रमण हुँदा शान्ति सुरक्षा कायम गर्न नचाहेको भन्दै सरकारले के गर्न खोजेको भनि प्रश्न गरे । 

“यो सरकारले गर्न खोजेको के हो ? संविधानले प्रद्धत्त अधिकार खोस्न खोजिएको हो ?,” पौडेलले सोधे । 

उनले बिहीबार संविधानसभाका अध्यक्षसमेत रहेका सुवास नेम्वाङ पनि ओलीसँगै इलामबाट फर्कदा एम्बुस थाप्न खोजिएको भन्दै पाँचथर र तेह्रथुमममा पनि आक्रमणको योजना बनिरहेको बताए । उनले देशमा सरकार छ कि छैन ? भन्दै प्रश्न गरे । (बाह्रखरी)