बुटवल / कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

चौधरीले कांग्रेस, माओवादी लगायतका ८ दलका ५३ जना सांसदको हस्ताक्षरसहित बिहीबार दिउँसो मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनको लागि आह्वान गरेका थिए।

यसअघि नै कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन हालेका थिए।

तर, प्रदेश प्रमुखले त्यसलाई मान्यता दिएका थिएनन्। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४/४ जना सांसद छन्।

त्यसैगरी जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक/एकजना र स्वतन्त्र एक सांसद रहेका छन्। चौधरीलाई एमाले र राप्रपा बाहेक सबै दलका सासंदको समर्थन रहेको छ।