चितवन : चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका–११ नयाँ किरण माविमा मतदान स्थगित भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको हो। यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो।

अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिए।

नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन्। 

सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको उनले बताए। उनले बैठकको तयारी भइरहेको र जटिल समस्या नभएकाले बैठकपछि मतदान सुरु हुने जानकारी दिए।

यस क्षेत्रमा रविसँगै नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपाने लगायतका २२ उम्मेदवार चुनावी मैदानमा छन्।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पदच्युत गरेपछि उपनिर्वाचन हुन लागेको हो।