कोहलपुर डेस्क

कोहलपुर नगरपालिकाको २०७९ चैत्र २३ गते बसेको कार्यपालिकाको बैठकको केही निर्णयहरु आपत्तिजनक रहेको छ ।

कोहलपुर नगरपालिकाको कार्यपालिकाको बैठकले गरेको निर्णय नं ११ को क र निर्णय नं १४ मा मनोमानी ढंगबाट बजेट निकासा गरिएको खुलासा भएको छ । कार्यपालिका बैठकमा बहुमत पुग्ने भएका कारण आफु अनुकुल, पार्टीको अनुसार निर्णय हुने गरेको एक स्थानियबासीले आरोप लगाएका छन् । साथै कोहलपुर नगरपालिकाले आफु नजिक रहेका कार्यकर्ता तथा नेता र आफु निकट संचारगृहलाई समेत भरणपोषण गर्दै आएको समेत आरोप लगाएका छन् ।

गत चैत्र २३ मा बसेको कार्यपालिकाको निर्णय नं ११
निर्णय नं ११ को क मा चालु आ.ब. २०७९÷०८० को नीति, बजे तथा कार्यक्रम पुस्तिकाको पेज नं ७१, सिं नं ७० को विभिन्न (सरकारी तथा गैर सरकारी) निकायहरुसँग समन्वय सहकार्य शिर्षकबाट खर्च हुने गरी शुशिल कोइराला स्मृति भवन निर्माण समिति, नेपालगञ्ज १० बाँकेलाई ७ लाख रकम उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको थियो ।

गत चैत्र २३ मा बसेको कार्यपालिकाको निर्णय नं १४
निर्णय नं १४ मा कोहलपुर नगरापलिका वडा नं ९ का मुस्लिम, मधेशी एवं अन्य पछाडि परेका महिलाहरुका लागि चालु आ.ब. २०७९÷०८० को नीति, बजेट तथा कार्यक्रम पुस्तिकाको पेज नं १०३, सिं नं ३७० को उपमेयरसँग महिला स्वरोजगार शीर्षकबाट खर्च हुने गरी सिलाइकटाई तालिम सञ्चालन गरे वापत फातिमा फाउण्डेशन नेपाल नेपालगञ्जलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

शुशिल कोइराला स्मृति भवन निर्माण समितिले सहयोग माग्यो हामीले दियौं – मेयर
न्यूज नमस्तेले शुशिल कोइराला स्मृति भवन निर्माणका लागि किन विनियोजित भएको भनी प्रश्न गर्दा मेयर आचार्यले भने शुशिल कोइराला नेपाली कांग्रेसको नेता मात्र होइन देशका नेता हुन् । शुशिल कोइराला स्मृति भवन निर्माण समितिले हामी सँग सहयोग माग्यो हामीले दियौं । उक्त समितिले अन्य पालिकाहरुसँग पनि माग गरेको छ । कतिले दिए कतिपयले दिने तयारीमा रहेको समेत उल्लेख गरेका छन् ।
आचार्यले थपे ७ लाखमा मात्र भवन बन्दैन करोड माथि लाग्छ, स्थानिय, प्रदेश अनि संघ सरकारसँग नै रकम माग गरेको छ स्मृति समितिले भन्दै जानकारी दिएका छन् ।

सिलाइकटाईका लागि मुस्लिम महिलाहरुको अनुरोधमा रकम दियौं – उपमेयर संगिता सुवेदी
निर्णय नं १४ का विषयमा न्यूज नमस्तेले कोहलपुर नगरपालिकाको उपमेयर संगिता सुवेदी सँग टेलिफोन मार्फत जानकारी लिएको छ । उपमेयर सुवेदी भन्छिन् – मुस्लिम महिलाहरुको अनुरोधमा सानो बजेट भएका कारण उपमेयर स्वरोजगार कोषबाट बाट २ लाख दिइएको हो । पटक पटक अनुगमनमा जाँदा धेरै मुस्लिम महिलाहरुले स्वरोजगार हुनका लागि अनुरोध गरेको हुनाले राहत पुग्ने हेतुले बजेट निकासा गरिएको सुवेदीले बताइन ।

विपी कोइराला या शुशिल कोइराला जसको नाम लिए पनि अन्ततः पार्टी कार्यालय निर्माण हुने हो – भण्डारी
यसै विषयमा नागरिक उन्मुक्ति पार्टीका नेता भुम भण्डारी भन्छन् – स्थानिय सरकारले कुनै पनि आमुक राजनीतिक दलको कार्यालय निर्माणमा स्थानिय पालिकाको विकास बजेटबाट लगानी गर्नु गलत र अनुपयुक्त हुन्छ ।
भण्डारीले उद्यमशिलता तथा क्षमता विकास कार्यक्रमका नाममा स्थानियलाई प्रोत्साहन गर्नुपर्नेमा कार्यक्षेत्र भन्दा बाहिर कार्य गर्न नमिल्ने र असुहाउँदो हुन्छ । अधिकार क्षेत्र र कार्य क्षेत्र बाहिर सन्तुलनमा योजना र विकास गर्नका लागि संघ र प्रदेश सरकार छदैछ नि ? भनी आफ्नो धारणा राखेका छन् ।
भण्डारीले वि.पी कोइराला, शुशिल कोइराला जसको नाम लिएर बजेट मागे पनि अन्ततः नेपाली कांग्रेस पार्टी कार्यालयनै बन्ने हो भन्छन् ।

कोहलपुरका जनताले दिएको करबाट नेपालगञ्जका संघसंस्था या पार्र्टी कार्यालय निर्माणका लागि बजेट दिनु सरासर गलत हो – बल बहादुर खड्का, नेकपा माओवादी केन्द्र, कार्यावहाक नगर अध्यक्ष
नेकपा माओवादीका कोहलपुर नगर समितिका कार्यवहाक अध्यक्ष बल बहादुर खड्का भन्छन् – कोहलपुर नगरपालिकाले गरेका निर्णयहरुमा पटक पटक आपत्तिजनक गर्दै आइरहेको छ । आफ्नौ पार्टी कार्यालय तथा कार्यकर्ता भरपोषण गर्ने निर्णय प्रति हाम्रो पार्टीले ध्यानाकर्षण गराउन चाहान्छ । साथै कोहलपुरका जनताबाट लिइएको करबाट नेपालगञ्जमा रहेका संघ संस्था तथा नेपाली कांग्रेसको स्मृति भवन निर्माण बनाउनका विनियोजित बजेट सरासर गलत रहेको समेत टेलिफोन मार्फत जनाएका छन् । कार्यपालिका बैठकमा बहुमत पुग्छ भन्दै जे पनि निर्णय गर्ने प्रवृत्ति सच्चिनुपर्छ होइन भने नेकपा माओवादी नगर कार्यसमितिले चरणबद्ध आन्दोलनको घोषणा गर्नेछ ।
युवा मेयर, कोहलपुरको विकासमा राम्रो छलाङ मार्लान भन्ने लागेकोमा पछुतो मान्दै कोहलपुरमा अलपत्र भएका विकास निर्माण कामहरु कसरी सम्पन्न गर्छन भनी गुनाँसो रहेको बताए ।

वाइसिएलको ज्ञापन पत्र
यस्तै वाइसिएल बाँकेले यस अघि कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । जनताको प्रत्यक्ष सरोकारासँग जोडिएको स्थानिय सरकारसँग आम जनताको थुप्रै अपेक्षा रहेतापनि ति अपेक्षाहरुमा तुषारापात भएको वाइसिएलले आफ्नो ज्ञापन पत्रमा जनाएको छ । साथै नगरपालिका र नगर विकास समितिले गरेका हरेक गलत गतिविधिलाई सशक्त ढंगले प्रतिवाद सदैव हाम्रो संगठन वाइसिएलले गर्नेछ भन्दै ज्ञापन पत्र बुझाएको थियो ।
ज्ञापन पत्र