कोहलपुर नगरपालिकाको सवारी साधनमा रहेको व्यवसायिक प्रचारमा आपत्ति

कोहलपुर
कोहलपुर नगरपालिकाको पानी टंयाकरमा ताज इन्जिनियरिङ इण्डष्ट्रिज नेपालगंजको व्यवसायिक प्रचार गरिएको हुँदा सामाजिक संजाल भरी आपत्ति जनाइएको छ ।
उक्त ताज इन्जिनियरिङ इण्डष्ट्रिज नेपालगंजको व्यवसायिक प्रचार गरिएको पानी टंयाकरको विषयमा नागरिक उन्मुक्ति पार्टी नेता भुम बहादुर भण्डारीले पटक पटक आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराउँदा समेत नगरपालिका मौन रहेको भनाई छ ।
कोहलपुर नगरपालिकाले मापदण्ड विपरीत निर्माण गरिएका संचरना तथा सामान, भवन, सडक, सडक पेटी तथा सार्वजनिक स्थानहरुमा हटाउन तिव्रता दिएको छ ।
कोहलपुर नगर क्षेत्रमा रहेका विभिन्न स्थानहरुमा कोहलपुर नगरपािलकाले स–साना देखी ठुला व्यवसायिक होर्डिङबोर्डहरुलाई समेत हटाउने प्रयास गरिरहेको नगरपालिकाले बताएको छ । तोकिएको समयमा मापदण्ड विपरितको संरचना तथा सामान नहटाएमा जे.सि.भि मेसिनको प्रयोग गरी उक्त सामानहरु हटाइने समेत जानकारीको लागि सूचना टाँस गरिएको यस अघि नगरपालिकाले जनाएको हो ।
यसै सँगै कोहलपुर नगरपालिकाले केबल नेटवर्क व्यवसायीहरुलाई तार व्यवस्थापन गर्ने सम्बन्धि सूचना प्रकाशित गरेको हो । कोहलपुर नगरपालिका वडा नं १२, चप्परगौडी स्थित पूर्व पश्चिम राजमार्गको दुवै तर्फ पक्की नाला निर्माण सहित सडक विस्तार गर्ने कार्य भैरहेको हुँदा उक्त क्षेत्रमा रहेका केबल तार तथा पोल व्यवस्थापन गर्नुपर्ने भएकोले सम्बन्धित केबल नेटवर्क प्रदायक संस्थाहरुले आफ्नो केबल तार तथा पोल व्यवस्थित गरिदिन हुन समेत कोहलपुर नगरपालिकाले जनाएको थियो ।
यसै बिषयमा न्यूज नमस्तेले विभिन्न व्यक्तित्वहरुको विचार लिइ समावेश गरिएको छ । कोहलपुर नगरपालिकाको कार्यकारी प्रमुख र कोहलपुर नगरपालिकाका जिन्सी शाखा प्रमुखलाई टेलिफोन गर्दा सम्पर्क हुन सकेन ।
देखावटी स्टन्टमा मात्रैमा सिमित नगरपालिका – भुमबहादुर भण्डारी, नागरिक उन्मुक्ति पार्टीका नेता ।

नागरिक उन्मुक्ति पार्टीका नेता भुम बहादुर भण्डारीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत विभिन्न पटक कोहलपुर नगरपालिकाको कम कमजोरीका विषयमा जानकारी गराइरहेता पनि सरोकारवाला निकाय मौन रहेको बताएका छन् ।
उनले झिनो पब्लिसिटीका, देखावटी स्टन्टमा मात्रैका लागि ज्यादा प्रचारबाजी गर्ने गरेको समेत आरोप लगाएका छन् । आफ्नो आङको भैसी नदेख्ने अर्काको जुम्रा भनेझै पहिले सुधार आफुबाटनै गर्नुपर्ने बताएका छन् । उनले स–साना खुद्रा, ठेला तथा फुटपाथ व्यवसायीको पिर मर्कालाई बुझी व्यवस्थित गरिनुपर्ने समेत बताएका छन् ।
कोहलपुर नगरपालिकाको ट्रयाक्टरमा जडित पानी ट्यांकर नं भे १ द ५४ सेतो प्लेट (सरकारी) रहेकोमा प्राइभेट कम्पनीको प्रचार गरिएको विषयमा किन मौन रहेको छ नगरपालिका भनी न्यूज नमस्तेलाई जनाएका छन् । उनी भन्छन् नगरपालिकाले व्यवसायीक प्रचार हटाउन तत्परता देखाउँदै आएता पनि आफ्नै सवारी साधनमा प्राइभेट कम्पनीको प्रचार गरिरहेको छ त्यसमा ध्यान नदिइएको भन्दै नागरिक उन्मुक्ती पार्टीका भुम बहादुर भण्डारीले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
यस अघि पनि भण्डारीले लेखेको छन् सडक बजारको होर्डि बोर्ड उठाउने अनि आफ्नै पानी ट्यांकीको यस्तो सार्वजनिक प्रचार प्रसार गर्दा कति राजश्व संकलन भयो त ? कोहलपुर नगरपालिकाको, कोहलपुरका व्यापारी र व्यवसायी अन्यौलमा होलान् नेपालगंजको यस्तो प्रचार देखेर । भनी फेसबुकबाट आम व्यवासायी, नागरिकलाई तथा नगरपालिकालाई समेत उनले सचेत गराएका थिए ।
विज्ञापन वापतको रकम लिएको हुनुपर्छ – लक्ष्मणराज पौडेल, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष,

कोहलपुर नगरपालिकाको या जुनसुकै सरकारी निकायका सवारी साधानहरुमा व्यवासायीक प्रचार गरिनु गलत हो । ताज इन्जिनियरिङ इण्डष्ट्रिज नेपालगंजको प्रचार गरिएको विज्ञापन हो, विज्ञापन वापतको रकम तिरेको हुनुपर्छ भन्ने धारणा दिएका छन् ।
तुरुन्तै हटाउन पर्छ – राजेन्द्र श्रेष्ठ, व्यवसायिक हक हित संरक्षण समितिका संयोजक कोहलपुर

अहिले नगरपालिकाले थालनी गरेको व्यवसायिक होर्डिङबोर्डलाई व्यवस्थापन गर्ने कार्य एकदमै सह्रानिय रहेको छ । नियम संगत रुपमा कोहलपुर नगरपालिकाले थालनी गरेका हरेक कार्य हामी व्यवसायीले सहयोग गर्छौ श्रेष्ठले भने । तर यदी कोहलपुर नगरपालिकाको आफ्नै सवारी साधनमा त्यस्तो खालको प्रचार गरिएको छ भने नगरपालिकाले ध्यान दिन जरुरी छ । यदी प्रचार गरिएको छ भने राजश्व आएको हुनुपर्छ होइन भने तुरुन्तै हटाउनु पर्छ ।
दृष्टिकोण विहिन, लापरवाही स्थानिय सरकार– खिल प्रसाद भुषाल, नेकपा एमाले लुम्बिनि प्रदेश कमिटि सदस्य

जनता प्रति उत्तरदायि नभएको स्थानिय सरकारले के नै गर्छ र, यो सरासर गलत हो । यसबाट निजि लाभ लिइएको देखिन्छ । यति पनि बुद्धि पुर्याउन नसक्नेले के सरकार चलाउ छन् । दुष्टीकोण विहिन, लापरवाही मात्र रहेको स्थानिय सरकार हो ।

प्रतिक्रिया दिनुहोस्