एजेन्सी\अन्तरराष्ट्रिय बजारमा मंगलवार कच्चा तेलको भाउ बढेको छ । मंगलबार लगातार दोस्रो दिन पनि कच्चा तेलको भाउमा हरियाली देखिएको छ । चीनको तेल मागमा आएको सुधार र टर्कीमा हालै गएको विनाशकारी महाभूकम्पपछि मुख्य निर्यात टर्मिनल बन्द भएर आपूर्ति अभाव भइरहँदा तेलको भाउ बढेको हो । उक्त दिनको कारोबारमा कच्चा तेलको अमेरिकी र अन्तरराष्ट्रिय दुवै बेञ्चमार्क उकालो लागेका छन् ।

लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा मंगलबार ८ जीएमटीतिर ब्रेन्ट क्रुडको भाउ २ दशमलव १५ प्रतिशतले बढेर प्रतिब्यारेल ८२ डलर ७३ सेन्टमा पुगेको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ डलर ४ सेन्ट धेरै हो ।

सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ २ दशमलव २ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७५ डलर ८१ सेन्टमा उक्लिएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको भन्दा १ डलर ७० सेन्ट धेरै हो ।

यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार ३ः४५ बजेतिर ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ८२ डलर १९ सेन्टमा किनबेच भइरहेको थियो । सोही समयमा डब्ल्यूटीआईको भाउ पनि ७५ डलर ४२ सेन्ट कायम भयो ।

चीनको आर्थिक गतिविधिमा पुनःबहाली आउने आशा र टर्कीको महाभुकम्पका कारण आपूर्ति अवरोधका कारण तेलको भाउले टेवा पाएको बजार अनुसन्धान संस्था ओएन्डाका विश्लेषक इडवर्ड मोयाले भने । यो वर्ष विश्वको कुल तेलको माग वृद्धिमध्ये आधा चीनबाट हुने अन्तरराष्ट्रिय ऊर्जा निकाय (आईईए)को अनुमान छ ।

विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबले ६ महीनामा पहिलो पटक एशियाली बजारका लागि साउदी बेञ्चमार्कको भाउ बढाएको छ । विशेषतः चीनको मागमा सुधारको आशामा तेलको भाउ बढाइएको हो । भूकम्पपछि टर्कीमा दैनिक १० लाख ब्यारेल तेल निर्यात हुने बीटीसी टर्मिनल बन्द भएको छ । लगानीकर्ताहरू अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्चका अध्यक्ष जेरोम पावेलको बुधवार भाषणको पखाईमा रहँदा भने तेलको भाउ धेरै बढ्न सकेन ।