लुम्बिनी– भारतका प्रख्यात सन्त मोरारी बापू सोमबार लुम्बिनजी आइपुगेका छन्। लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितिको आयोजनामा मंगलबारबाट सुरु हुने रामकथा प्रवचनका लागि वापू लुम्बिनी आएका हुन्।

उनी दिउँसो भारतबाट विमान चार्टड गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी लुम्बिनी पुगेका हुन्। पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन्।

सन्त वापूलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य विश्वराज पौडेल, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत गरेका हुन्।

मायादेवि मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गरे। वापूले बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगेर पानी पिए।

उक्त अवसरमा उपाध्यक्ष भिक्षु मैत्तयल बुद्धको जन्मस्थल लुम्बिनीबारे जानकारी दिए। उपाध्यक्ष मैत्तयले राजा अशोक स्तम्भमा लेखिएको पाली भाषा नै लुम्बिनीमा बुद्ध जन्मको अकाट्य प्रमाण भएको बताए। उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको आगन्तुक पुस्तिकामा, ‘बुद्धको जन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको,’ लेखेका छन्।

पवित्र धाममा आउन पाउँदा अत्यन्तै खुसी र शान्ति मिलेको वापूले उल्लेख गरे। सन्त वापूले मन्दिर परिसरमा दीप प्रज्जवलन गरी पूजा गरे। बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्ने इच्छाअनुसार नै वापू लुम्बिनी आएको आयोजकहरूले बताएका छन्।

रामकथा प्रेमयज्ञ समितिको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा मंगलबारदेखि ९ दिनसम्म कथावाचन हुने छ।

रामकथा स्थानान्तरणको माग

यसैबीच मुरारी बापुले लुम्बिनीमा गर्ने रामकथा प्रवचन हिन्दू गुरुबाट हुन लागेको भन्दै विभिन्न बौद्ध समुदाय आबद्ध धार्मिक संघ संस्थाहरूले विरोध जनाएका छन्। लुम्बिनीमा बौद्ध र हिन्दू धर्मका विषयमा केही दिनअघि धर्मोदय सभाले विरोध जनाएको थियो। सोही क्रममा सोमबार विभिन्न जातिका बौद्धमार्गीहरूले ‘संयुक्त बौद्ध धर्मावलम्बी संघर्ष समिति’ नै गठन गरी लुम्बिनीको पर्सा चोकमा प्रदर्शन गरेका छन्।

लुम्बिनीस्थित पर्सामा दुवै समूह आमने-सामने हुँदा लुम्बिनी केहीबेर तनावग्रस्त बनेको थियो। सो क्रममा ३ जना सामान्य घाइते भएका छन्। संयुक्त बौद्ध धर्मावलम्बी संघर्ष समिति संयोजक पार्वती घर्ती मगरले रामकथा गर्ने नहुने पक्षमा आफुहरू नरहेको तर लुम्बिनीभित्र कार्यक्रम नगर्न आग्रह गरिएको बताइन्।

‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका मुरारी बापुले सबै धर्मका प्रमुख तीर्थ स्थलहरू एवम् प्रमुख स्थानहरूमा प्रवचन गर्दै आएका छन्।

अभियानअन्तर्गत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ। नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो। यसअघि सन २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो। यसैगरी काठमाडौँ र भुसुण्डी सरोवर (तिलिचो ताल) मासमेत राम कथा वाचन भइसकेको स्थानीय संयोजक राजेश अग्रवालले जानकारी दिए।

बौद्ध सम्प्रादायले विरोध गरेपछि स्थिति सहज बनाउन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहज वातावरण बनाउन छलफल गरेको जानकारी दिए।