अर्थतन्त्रको निर्भरता विप्रेषणमा

विप्रेषण भनेको परिवर्त्य वा अपरिवर्त्य विदेशी मुद्राको आप्रवाह अर्थात् राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा हुने रकमान्तर वा स्थानान्तर हो । यसले विगतमा कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात करीब ३० प्रतिशत ओगटेको थियो । अहिले यो घटेर करीब २१ प्रतिशत भएको छ । अर्थतन्त्रमा विप्रेषणको निर्भरतालाई हेर्दा नेपाल विश्वको ५औं देशमा पर्छ । सन् १९८० को दशकदेखि शुरू भएको विश्वव्यापीकरण तथा आर्थिक उदारीकरणको लहर र त्यसले ल्याएको आर्थिक एकीकरणसँग विश्वव्यापी रूपमा अन्तरराष्ट्रिय व्यापार, आप्रवासन र वैदेशिक पूँजी प्रवाहमा वृद्धि भएको पाइन्छ । नेपालबाट पनि विगत २ दशकयता तेस्रो मुलुक (खासगरी मलेशिया र खाडी मुलुक) तर्फ वैदेशिक रोजगारीका लागि जानेको संख्या र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि हुँदै आएको छ । नेपालले वैदेशिक रोजगारीका लागि ११० देश खुला गरेको छ भने ८ देश ( कतार, यूएई, जापान, दक्षिण कोरिया, बहराइन, इजराइल, जोर्डन, र मलेशिया) सँग द्विपक्षीय श्रमसम्झौता गरेको छ । व्यक्तिगत श्रमस्वीकृतिमा १७२ मुलुकमा नेपालीहरू कामका लागि गएको पाइन्छ । वैदेशिक रोजगार खुला गरिएको मुलुकमध्ये दक्षिण कोरियामा सरकारी सम्झौताअनुरूप कामदार पठाएको पाइन्छ । जापानलगायत देशसँग पनि रोजगारीका लागि सरकारी स्तरमा कामदार पठाउन श्रमसम्झौता गरिसकिएको छ । ती सम्झौता कार्यान्वयनको चरणमा रहेको देखिन्छ । श्रमस्वीकृतिका आधारमा वैदेशिक रोजगारीका लागि नेपाली कामदारको प्रमुख गन्तव्य खाडी मुलुकहरू नै रहेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार गत २०७९ मङ्सिरसम्ममा गतवर्षको तुलनामा विप्रेषण आप्रवाह २३ दशमलव शून्य प्रतिशतले वृद्धि भई रू. ४८० अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ दशमलव ३ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ८० दशमलव ६ प्रतिशतले वृद्धि भई २,३६,७७९ पुगेको छ । खुद ट्रान्सफर २१ दशमलव ६ प्रतिशतले वृद्धि भई रू. ५३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ दशमलव ३ प्रतिशतले घटेको थियो । यसरी हेर्दा गतवर्षको तुलनामा विप्रेषण आप्रवाह सुखद हुँदै गएको देखिन्छ ।
हाल नेपालबाट दक्ष, अर्धदक्ष, र अदक्षलगायत गरी दैनिक करीब २ हजारको हाराहारीमा देश छाड्ने गरेको देखिन्छ । यीमध्ये दक्ष व्यक्तिहरू अस्ट्रेलिया, क्यानाडा, अमेरिकालगायत मुलुकमा विद्यार्थीलगायत श्रमिकका रूपमा जानेको संख्या पछिल्लो समय निकै बढ्दै गएको देखिनुले प्रतिभा पलायनको समस्या भविष्यमा कहालीलाग्दो हुन सक्नेतर्फ सम्बद्ध निकायको बेलैमा ध्यान जानु जरुरी छ । नेपालको अर्थव्यवस्था आन्तरिक स्रोतको परिचालनबाट भन्दा पनि वैदेशिक सहयोग, ऋण र मूलत: विप्रेषणबाट धानिएको छ जसले गर्दा नेपालको समग्र अर्थतन्त्रमा विप्रेषणमाथिको निर्भरता बढ्दै गएको छ । विगत १० वर्षमा विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसँगको औसत अनुपात हेर्दा २५ प्रतिशत रहेको छ । नेपालको गरीबी न्यूनीकरणलगायत सामाजिक एवम् मानव विकास सूचकाङ्कमा भएको उल्लेख्य सुधारमा समेत वैदेशिक रोजगारीमा गएकाहरूको आर्जनको महत्त्वपूर्ण योगदानलाई भुल्न सकिँदैन ।
विप्रेषणलाई राष्ट्रिय पूँजी निर्माणको क्षेत्रमा उपयोग गर्दै विप्रेषण आप्रवाहमा आउन सक्ने कमीले अर्थतन्त्रमा पार्ने प्रभावको नियमित आकलन र बाह्य क्षेत्र सन्तुलनको वैकल्पिक आधारको विस्तार गर्नु उत्तिकै महत्त्वपूर्ण रहेको छ । यसतर्फ सम्बद्ध निकायले कार्य थालनी गर्न र अहिलेको आर्थिक संकटलाई उकास्न विभिन्न आर्थिक कार्यक्रम ल्याउन ढिला भइसकेको छ । विप्रेषण प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृत्ति हेर्दा विप्रेषण रकमको २५ दशमलव ३ प्रतिशत अंश ऋण तिर्नमा, २३ दशमलव ९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तुमा, ९ दशमलव ७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, ३ दशमलव ५ प्रतिशत विवाह, व्रतबन्धलगायत सामाजिक कार्यमा र ३ दशमलव शून्य प्रतिशत घरायसी सम्पत्तिको खरीदमा प्रयोग गर्ने गरेको देखिएको छ । विप्रेषण रकमको २८ दशमलव शून्य प्रतिशत बचत र १ दशमलव १ प्रतिशत उत्पादनमूलक क्षेत्र ( व्यापार/व्यवसाय) मा लगानी भएको देखिएको छ । विप्रेषणको रूपमा भित्रिने रकमको अधिकांश अंश उपभोगमा खर्च भइरहेको देखिए तापनि यसले स्वास्थ्य, शिक्षालगायत घरपरिवारको जीवनस्तर उकास्न योगदान गर्दै आएको छ । लगानी र पूँजी निर्माणको माध्यमबाट प्रत्यक्ष रूपमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै आएको छ ।
बाह्य क्षेत्र सन्तुलन कायम गर्न मात्र नभई शिक्षा, स्वास्थ्य, गरीबी निवारण, वित्तीय साधन परिचालन र राष्ट्रिय पूँजी निर्माण, रोजगारीको अभिवृद्धिमा समेत विप्रेषण आप्रवाहको महत्त्वपूर्ण भूमिका रहेको छ । त्यसैले विप्रेषणले देशको गरीबी हटाउने, आर्थिक असन्तुलन कम गर्ने, पूँजीबजारको विकास गर्ने, पूँजी निर्माण गर्ने र देशको आर्थिक समृद्धिमा मद्दत पुर्याउने हुँदा यसको वृद्धितर्फ समयमा नै सचेत हुनुपर्छ ।
विदेशसँग एकपक्षीय तथा बहुपक्षीय सम्बन्धको विस्तार, वैदेशिक रोजगारसम्बन्धी स्पष्ट नीतिको निर्माण, वैदेशिक रोजगार व्यवसायीसँग आपसी समझदारीको विकास, रोजगारका उचित गन्तव्यहरूको पहिचान, विदेशस्थित कूटनीतिक नियोग र राजदूतावासहरूलाई रोजगारीको अवसरको सम्बन्धमा बढी सक्रिय बनाउन आवश्यक छ । उत्पादनमूलक उद्योगमा आएको शिथिलता, लगानीमैत्री वातावरणको अभावलगायतले देशमा रोजगारीको अवस्था गुम्दै गएकाले वैकल्पिक रोजगारीको माध्यम नै वैदेशिक रोजगारी बन्न गएको छ ।
वैदेशिक रोजगारीका सकारात्मक पक्षहरू पनि छन् । विदेशमा सिकेको ज्ञान र शीपलाई यहाँ व्यवहारमा लागू गरेर उद्यमी बन्नेको संख्या पनि मनग्य छ, जसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नुका साथै नेपाली जीवन शैलीमा समेत सकारात्मक प्रभाव पारेको छ । तर, विप्रेषणबाट प्राप्त अधिक रकम उत्पादनमूलक क्षेत्रमा खर्च भएको छैन, अनुत्पादक खर्च बढेको छ । यसबाट अर्थतन्त्रले दीर्घकालीन लाभ लिन सक्दैन । धेरै मानिस विदेशिँदा देशमा श्रमशक्तिको तीव्र अभाव छ । उत्पादनशील जनशक्तिको अभावले उत्पादन कम भई वस्तु तथा सेवाको आयात वृद्धि भई व्यापारघाटा थप बढ्ने देखिन्छ । जनशक्तिको अभावले गाउँघर पातलिँदै गएको छ । त्यस्तै वैदेशिक रोजगारमा गएका मानिस अलपत्र पर्ने, काम नपाउने, सम्झौताबमोजिमको काम नपाउने, श्रमशोषणमा पर्ने, यौनदुव्र्यवहार र आर्थिक शोषणमा पर्ने आदि समस्या पछिल्लो समय बढ्दै गएको देखिन्छ । प्राप्त विप्रेषणको सदुपयोग गर्ने, शीपयुक्त जनशक्तिको विकास गर्ने, औद्योगिक, कृषि, पर्यटन र जलस्रोतको विकास गरी स्वदेशमा नै रोजगारी सृजना गर्ने, उद्यमशीलताको विकास गर्ने, अन्तरराष्ट्रिय बजार सुहाउँदो श्रमशक्तिको विकास गर्नेलगायत काममा सरोकारवालाको ध्यान जानु आवश्यक छ । बैंकहरूले निकासीजन्य उद्योग र कृषिक्षेत्रमा लगानी वृद्धि गर्ने, आन्तरिक उत्पादन बढाई निर्यात बढाउने, भौगोलिक बनावटअनुरूपको विकास नीति बनाई स्वदेशमा नै योग्यता र दक्षताको आधारमा रोजगारी दिलाई युवा पलायनलगायत प्रतिभा पलायनको समस्या हल गर्नुपर्छ । वैदेशिक रोजगारीलाई व्यावहारिक रूपमा गतिशील बनाई स्वदेशमा रोजगारको अवसर सृजना गर्न सरकार र सरोकारवाला सबैको ध्यान बेलैमा जानु अपरिहार्य भइसकेको छ । यसो गर्न नसके प्रतिभा पलायनको निरन्तरता जारी रहनेछ । नेपालमा विप्रेषणको सकारात्मक प्रभावका रूपमा व्यापारघाटा सन्तुलन, लगानीको वातावरणमा सुधार, तरलता व्यवस्थापनामा सहजता, गरीबी निवारणमा सहयोग आदि हुन् । विदेशमा गई फर्किने कामदारहरूले उच्च शीप, ज्ञान र क्षमता प्राप्त गरेर फर्किने भएकाले दक्षता प्राप्त हुने भए पनि श्रम अभावले नेपालको उत्पादकत्व घट्दै गएको छ । विदेशी संस्कृतिको प्रभाव बढ्दै गएको छ । स्वदेशमा रहेका आश्रित परिवारको काम गर्ने जाँगर र जोसमा ह्रास देखिएको छ र पारिवारिक सम्बन्ध विच्छेद र कलह बढ्दै गएको छ । विप्रेषणकै कारण घडेरी कारोबारमा वृद्धि भई शहरकेन्द्रित हुँदा ग्रामीण अर्थतन्त्र कमजोर भएको छ । त्यसैले प्रतिभा पलायन रोक्न आवश्यक छ ।
लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।
प्रतिक्रिया दिनुहोस्