वित्तीय समावेशीकरण र पहुँच

वित्तीय समावेशीकरण आर्थिक, वित्तीय र सामाजिक आवश्यकतालाई पहिचान गरेर सुलभ र उपयोगी वित्तीय सेवाहरू विवेकशील र दिगो रूपमा उपलब्ध गराउने औपचारिक तरीका हो । वित्तीय समावेशीकरणले विश्वव्यापी रूपमा रहेका ३० ओटा दिगो विकासका लक्ष्यमध्ये कम्तीमा ७ ओटा समर्थन गर्ने हुँदा यसलाई विश्वव्यापी प्राथमिकता दिएको पाइन्छ । वित्तीय समावेशीकरणले अर्थतन्त्रका सबै पक्षलाई औपचारिक वित्तीय परिधिभित्र ल्याएर तिनीहरूलाई एकआपसमा एकीकरण गर्ने लक्ष्य राख्छ ।
वित्तीय पहुँच वित्तीय समावेशीकरणको पहिलो खुट्किलो भएकाले वित्तीय संस्थाहरूको संख्या र पहुँचले वित्तीय समावेशीकरणसँग प्रत्यक्ष सम्बन्ध राख्छ । आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महीनाको तथ्यांक हेर्दा पूर्वाधार विकास बैंकसहित कुल ११ हजार ६३२ ओटा शाखा भएका जम्मा १२५ ओटा बैंक तथा वित्तीय संस्था विद्यमान छन् । हाल भइरहेको मर्जर र प्राप्तिपद्धतिले गर्दा वित्तीय संस्थाहरूको संख्या घट्दो क्रममा छ तथापि कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वित्तीय पहुँच छ । सबैभन्दा बढी शाखा (३ हजार ५९ ओटा) वाग्मती प्रदेशमा र सबैभन्दा कम शाखा (४५९ओटा) कर्णाली प्रदेशमा छन् भने देशमा औसत जनसंख्या प्रतिशाखा २,५१० छ । बैंक तथा वित्तीय संस्थाहरू वित्तीय प्रणालीको महत्त्वपूर्ण पक्ष भएकाले बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि गरी देशको पूँजी निर्माणमा पनि भूमिका खेल्छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने वित्तीय सेवासुविधाले अर्थतन्त्रको वित्तीय आवश्यकता पूरा गर्ने हुँदा दैनिक जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक सहजता ल्याउँछ र वित्तीय समावेशीकरणलाई टेवा पुर्याउँछ । स्थानीय तहमा रहेका प्रत्येक बैंक तथा वित्तीय संस्थाहरूले उक्त तहको वित्तीय आवश्यकता पहिचान गर्न सहयोग पुर्याउँछन् । यसर्थ वित्तीय पहुँचद्वारा प्रत्येक वर्गलाई आवश्यक पर्ने वित्तीय सेवाहरूको पहिचान गरेर सोहीअनुरूपका सेवा प्रवाह गरी वित्तीय उपभोग बढाएर असमान आयस्तर र गरीबी निवारणको ठीक व्यवस्थापन गर्न सकिन्छ । औपचारिक वित्तीय प्रणालीमा रहेर वित्तीय पहुँच र उपयोगद्वारा आर्थिक तथा वित्तीय वृद्धि र विकासमा केन्द्रित हुन सकिन्छ । यसका लागि आधुनिक वित्तीय प्रविधि, वित्तीय साक्षरता र पूर्वाधारहरूलाई राम्ररी सम्भाव्यता अध्ययन गरी, उचित योजना बनाई सही दिशामा कार्यान्वयन गर्न जरुरी छ र यसपश्चात् मात्र समावेशी वित्तीय प्रणालीको प्रवर्द्धन गर्न सकिन्छ ।
बैंक तथा वित्तीय संस्थाहरूले आम जनमानसमा वित्तीय सेवासुविधामार्फत विश्वास कायम गरी वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न सक्छन् । सबै नीतिगत सुधारका लागि लैंगिक प्रभावलाई विचार गर्दै वित्तीय ग्राहक विभाजन गरेर वित्तीय जोखिमलाई सोहीअनुरूप व्यवस्था गर्दै लैजान सक्छन् । विशेष गरी बैंक तथा वित्तीय संस्थाहरूले विप्रेषणलाई वित्तीय समावेशीकरणको प्रवेशद्वारका रूपमा वित्तीय उत्थान गर्न सक्छन् । वित्तीय बजार आचरणमा उपभोक्ता सशक्तीकरणलाई ध्यानमा राखी नीतिहरू निर्माण गर्दै बजार प्रवेश र विकासमा ध्यान केन्द्रित गर्न सक्छन् । यसर्थ वित्तीय समावेशीकरणमा विशेष भूमिका बैंक तथा वित्तीय संस्थाहरूको हुन्छ ।
नेपालमा वित्तीय समावेशीकरणलाई विभिन्न प्रकारका वित्तीय सेवाको परिसूचक जस्तै भुक्तानी, बचत, साख, लगानी, बीमा आदि जस्ताको उपभोगबाट मापन गरिन्छ । विद्यमान औपचारिक वित्तीय उपकरणहरूको प्रयोगबाटै अर्थतन्त्रका प्रत्येक सूक्ष्म क्षेत्रहरू जोडिंदै बृहत् रूपमा विकास हुन्छ । वर्तमान समयमा विस्तार भइरहेका डिजिटल वित्तीय सेवाहरूले जनजीवनमा केही वित्तीय सुधार ल्याए पनि राष्ट्रका अधिकांश ग्रामीण भागमा वित्तीय सजगता पर्याप्त मात्रामा छैन । ६० प्रतिशतभन्दा बढी डिजिटल वित्तीय सेवाहरू शहरी भागमा मात्र उपभोग भएको पाइन्छ । नेपाल आफैमा गरीब देश भएकाले यहाँको वित्तीय प्रणाली नाजुक छ । यहाँको सम्पूर्ण क्षेत्र औपचारिक वित्तीय परिधिभित्र आउनलाई अझै केही समय लाग्नेछ किनकि वित्तीय ज्ञान, मनोवृत्ति, शीप, क्षमता र व्यवहार विकास हुनलाई बलियो र भरपर्दो वित्तीय प्रणाली हुन आवश्यक छ । यसका लागि वित्तीय पूर्वाधारको विकास हुनु अतिआवश्यक छ र वित्तीय पहुँच र उपयोगलाई साथसाथै प्रवर्द्धन गर्नुपर्छ । अर्थतन्त्रको वास्तविक क्षेत्रलाई प्रत्येक तवरबाट वित्तीय पक्षसँग जडान गरेर वित्तीय उपभोक्ताहरूको पहिचान हुनुपर्छ । उदीयमान वित्तीय प्रविधिहरूलाई पनि ध्यानमा राख्दै डिजिटल वित्तीय साक्षरता र समावेशीकरणलाई विस्तार गर्ने अवसर छ । वर्तमान अवस्थाको बैंकिङ मर्जरले बैंकिङ संस्थाहरूको संख्या घटाए तापनि वित्तीय सेवासुविधा गुणस्तरीय भई वित्तीय समावेशीकरणलाई उकास्न सक्ने सम्भावना छ । राष्ट्रिय वित्तीय साक्षरता करीब ५८ प्रतिशत रहँदा ग्रामीण भागमा औपचारिक वित्तीय सेवाहरूलाई अझै पनि नौलो विषयका रूपमा लिइन्छ । यसर्थ देशमा विद्यमान ग्रामीण र शहरी आर्थिक अन्तरले अर्थतन्त्रको वित्तीय समावेशीकरणलाई चुनौती दिइरहेको छ ।
लेखक व्यवस्थापन विषयमा स्नातकोत्तर तहका विद्यार्थी हुन् ।
प्रतिक्रिया दिनुहोस्