बैजनाथ गाउँपालिका वडा नं.१ गाभरमा चक्रपथ निर्माण गरिने

बैजनाथ \बाँकेको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रहेको बैजनाथ गाउँपालिका वडा नं.१ स्थित गाभरको सौन्दर्य अवलोकनका लागि चक्रपथ निर्माण गरिने भएको छ। बैजनाथ गाउँपालिका १ का वडा अध्यक्ष रूपबहादुर मल्लले गाभर उपत्यकालाई चारैतिरबाट समेट्ने गरी करिब १० किलोमिटर चक्रपथ निर्माण कार्य अघि बढेको जानकारी दिए ।
“करिब २ किलोमिटर क्षेत्रमा ट्र्याक निर्माणको काम मात्रै बाँकी छ”, वडा अध्यक्ष मल्लले भने– “ट्र्याक खोल्ने काम र सडक निर्माणको काम फेरी अघि बढ्दै छ ।” सहरी विकास तथा भवन कार्यालय नेपालगन्जमा अनुसार सोही सडक निर्माण कार्य अघि बढाउन लुम्बिनी प्रदेश सरकारबाट चालु आर्थिक वर्ष २०७९–८० मा एक करोड रुपियाँ बजेट छुट्टाइएको छ ।
सडक निर्माण कार्य सम्पन्न भएपछि पदयात्राका लागि समेत महत्त्वपूर्ण कदम हुने स्थानीय बासिन्दाले जनाएका छन् । गाभरमा रहेको लायन्स पार्क तथा होमस्टे र गाभर उपत्यका पछिल्लो समय बाँके, बर्दिया र सुर्खेत लगायतका जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा परिचित रहेको छ ।
लुम्बिनी प्रदेश बाँके क्षेत्र नम्बर ३(१)का सांसद रत्न खत्रीले गाभर उपत्यकालाई प्रदेशकै उत्कृष्ट पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न प्रदेश सरकारले प्राथमिकता दिने विश्वास व्यक्त गरे ।
उनले चक्रपथ निर्माण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा केही भाग पर्ने भएकाले निकुञ्जसँग समन्वयको काम अघि बढाइएको जानकारी दिए । कोहलपुर नजिकै पर्ने भए पनि चारैतिरबाट जङ्गल र स–साना पहाडले घेरिएको गाभर रमणीय स्थानको रूपमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्