बुटवल\लुम्बिनी प्रदेशमा संसदको माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि आगामी १ वर्षका लागि मात्र माघ २५ गते उपनिर्वाचन हुँदैछ ।नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि खाली रहेको सिटमा उपनिर्वाचन हुन लागेको हो । रूपन्देहीबाट चुनाव लड्न राजीनामा दिएका भट्टराई त्यतिबेला उम्मेदवार बन्न पाएनन् ।

उपनिर्वाचनमा एमालेका कुमार दशौदी र नेपाली कांग्रेसका माधवप्रसाद आचार्यले बुधवार मनोनयन दर्ता गराएर मतदातासँग मत माग्न केन्द्रित भएका छन् । दशौदी र आचार्य रोल्पाका हुन् । उनीहरूसँगै नागरिक उन्मुक्ति पार्टीको तर्फबाट राजेन्द्रवीर रायले पनि उम्मेदवारी दिएका छन् । 

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका, उपमहानगरपालिका, प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले मात्र मतदान गर्ने पाउने कानूनी व्यवस्था छ । राष्ट्रिय सभामा स्थानीय तह र प्रदेशसभा सदस्यको मतभार छुट्टाछुट्टै गणना हुन्छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ गणना हुन्छ ।लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह र प्रदेश सभामा ८७ सांसद छन् । यसरी हेर्दा उपनिर्वाचनका ३०५ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । 

कुन राजनीतिक दलसँग कति मतभार ?

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो शक्तिमा छ । स्थानीय तहबाट कांग्रेसका प्रमुख २१, अध्यक्ष २७, उपप्रमुख १२, उपाध्यक्ष ३२ गरी कूल ९२ जनाले मतदान गर्न पाउनेछन् । उनीहरूको मतभार १ हजार ६५६ हुन आउँछ । प्रदेश सभामा कांग्रेसका २७ जना सांसद छन् । ४८ जनाले गणना गर्दा उनीहरूको मतभार १ हजार २९६ हुन आउँछ ।

यसरी हेर्दा स्थानीय तह र प्रदेश सभामा गरी कांग्रेससँग कूल २ हजार ९५२ मतभार रहेको छ ।

स्थानीय तहतर्फ नेकपा एमालेको प्रमुख ९, अध्यक्ष १८, उपप्रमुख १६, उपाध्यक्ष २४ गरी ६७ जना छन् । उनीहरूको मतभार १ हजार २०६ छ । प्रदेश सभामा एमालेका २९ जना सांसद निर्वाचित भएका छन् । उनीहरूको मतभार १ हजार ३९२ छ ।

एमालेसँग स्थानीय र प्रदेशतर्फ गरी कूल २ हजार ५९८ मतभार छ ।

नेकपा माओवादी केन्द्रबाट स्थानीय तहतर्फ प्रमुख ३, अध्यक्ष २२, उपप्रमुख ४, उपाध्यक्ष ११ गरी ४० जना निर्वाचित भएका छन् । उनीहरूको मतभार ७२० रहेको छ । प्रदेश सभामा माओवादीका १० सांसद छन् । उनीहरूको मतभार ४८० हुन्छ । प्रदेश र स्थानीय तहतर्फ गरी माओवादीसँग कूल १ हजार १६६ मतभार छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्थानीय तहमा प्रमुख १, उपप्रमुख १, उपाध्यक्ष १ गरी ३ जना छन् । उनीहरूको मतभार ५४ हुन्छ । प्रदेश सभातर्फ ४ सांसदको मतभार १९२ हुन्छ । राप्रपाको कूल मतभार २४६ रहेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख १, उपप्रमुख २, अध्यक्ष २ र उपाध्यक्ष १ गरी ६ जना छन् । उनीहरूको मतभार १०८ छ । प्रदेश सभाका ३ सदस्यको १४४ मतभार हुन आउँछ । यहाँ जसपासँग कूल २५२ मतभार छ । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष २, उपाध्यक्ष २ गरी ४ जना छन् । उनीहरूको मतभार ७२ हुन आउँछ । लोसपाका प्रदेश सभामा ३ सांसदको मतभार १४४ छ । यससँगै लोसपासँग कूल २१६ मतभार छ ।

राष्ट्रिय जनमोर्चाका प्रमुख १, उपप्रमुख १, अध्यक्ष १, उपाध्यक्ष १ गरी ४ जना छन् । उनीहरूको मतभार ७२ हुन आउँछ । प्रदेश सभामा जनमोर्चाका १ सांसद छन् । यहाँ जनमोर्चाको मतभार १२० हुन आउँछ । 

जनता प्रगतिशील पार्टी नेपालबाट अध्यक्ष १, उपाध्यक्ष १ गरी २ जना छन् । उनीहरूको मतभार ३६ हुन्छ । प्रदेश सभामा जनमत पार्टीका पनि ३ सांसद छन् । उनीहरूको मतभार १४४ छ । नागरिक उन्मुक्ति पार्टीका ४ सांसदको १९२ मतभार छ । स्वतन्त्र २ सांसदको मतभार ९६ छ । नेकपा एकीकृत समाजवादीका प्रदेश सभामा १ सांसद छन्, उनको मतभार ४८  छ । नेकपा एसले स्थानीय तहमा कुनै पनि पालिकामा जितेको छैन ।

अंकगणितको लेखाजोखा 

निर्वाचनमा तत्कालीन कांग्रेस–माओवादीसहित गठबन्धन भए पनि अहिले नयाँ गठबन्धन बनेको छ । यो राष्ट्रियसभा उपनिर्वाचनमा एमाले–माओवादीसहित सत्तारूढ गठबन्धनबाट एउटै उम्मेदवार बन्ने अवस्था छ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा चुनावमा ५ दलीय गठबन्धन र एमाले सहितको गठबन्धनबीच प्रतिस्पर्धा भएको थियो ।

केन्द्रमा एमाले सहितको ७ दलीय नयाँ गठबन्धन बनेको छ । केन्द्रमा सरकारलाई एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ तर प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिएको छ । प्रदेशमा पनि सत्ता गठबन्धनकै सरकार बनेको छ ।

राष्ट्रियसभा उपनिर्वाचनमा पुग्दासम्म यही गठबन्धन कायम रहेमा एमाले–माओवादी सहितको गठबन्धनले जीत निकाल्ने देखिन्छ । वर्तमान गठबन्धन र कांग्रेसबीच प्रतिस्पर्धा हुँदा गठबन्धनका उम्मेदवार विजयी हुने सम्भावना बढी छ । 

सत्तारूढ गठबन्धनको मत कति ? 

वर्तमान सत्तारूढ गठबन्धन (७ दल) को मतभार ४ हजार ५९६ रहेको छ । जुन कांग्रेसको भन्दा १ हजार २५४ मतभारले बढी हो । कांग्रेसलाई पहिलेको गठबन्धनमा रहेका लोसपा, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले साथ दिएमा पनि उससँग ३ हजार ३४२ मतभार मात्रै हुन्छ । 

जनता प्रगतिशील पार्टी र स्वतन्त्र प्रदेश सभाका २ सांसदको मत कता जाने भन्ने निश्चित छैन । स्वतन्त्र २ सांसदले पनि सत्तारूढ गठबन्धनलाई मत दिने सम्भावना बलियो छ । उनीहरूले लुम्बिनी प्रदेश सरकारलाई समर्थन र विश्वासको मत समेत दिएका छन् । प्रदेश सभामा मुख्यमन्त्री लीला गिरीलाई नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मत दिएको थियो । 

एमाले केन्द्रीय सदस्य समेत रहेका दशौदीलाई सत्तारुढ गठबन्धनको साथ रहने एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए । उनले सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत रहेको दशौदीले चुनाव जित्ने कंडेलले बताए । उम्मेदवार आचार्यले चुनाव आफूले जित्ने दाबी गरे ।

नागरिक उन्मुक्ति पार्टीका नेता धर्मबहादुर चौधरीले आफूहरूको माग सम्बोधनका लागि दबाब बढाउन पार्टीले पनि उम्मेदवारी दिएको संकेत गरेका छन् ।