बाँके\नेपालगञ्ज गुलरिया चार लेनको सडक निर्माण सुरु भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका इन्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज–गुलरिया सडकखण्ड विस्तार अन्तर्गत हाल माटो पटानको कार्य भइरहेको दिएका छन।

“सडक निर्माणका लागि शर्मा एण्ड कम्पनीले जिम्मा पाएको छ” इन्जिनियर पाण्डेले भने , “हाल प्रारम्भिक चरणको काम भइरहेको छ ।” हाल बाँकेको जानकी गाउँपालिकाको इन्द्रपुर क्षेत्रमा सडक विस्तार अन्तर्गत माटो पटान र सडक क्षेत्र छुट्याउने कार्य तीव्ररुपमा अघि बढेको छ ।

गत भदौ अन्त्यमा टेण्डर तथा शिलान्यास भएको यो सडक ठेक्का सम्बन्धी कानुनी प्रक्रिया पूरागरी निर्माण कार्य सुरु भएको हो । यो सडक निर्माण भएपछि बाँकेको खजुरा क्षेत्रसहित कैलाली र बर्दियाका बासिन्दालाई नेपालगञ्ज पुग्न सहज हुने भएकाले यसलाई गौरवको योजनाका रूपमा लिइएको छ ।

नेपालगञ्ज–गुलरिया सडक ३२.९ किलोमिटर लम्बाइको रहेको छ । जसमध्ये २२.७ किलोमिटर चार लेन र १०.२ किलोमिटर दुई लेनको निर्माण गरिनेछ । यस सडकमध्ये १.८ किलोमिटर चार लेन सडक निर्माण भइरहेकाले ३१.१ किलोमिटर सडक स्तरोन्नति हुनेछ । बस्ती भएको क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेन सडकको रूपमा स्तरोन्नति हुने हुलाकी सडक कार्यालय नेपालगञ्जले जनाएको छ । सोही सडकखण्डको गुलरिया र खजुरामा चार लेन सडक निर्माणमा ढिलाइ भएको छ । खजुरामा वर्षौँदेखि अलपत्र सडकका कारण आवागमनमा कठिनाइ भइरहेको छ ।