बाँके\स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले दादुरा प्रभावित क्षेत्रको अनुगमन गरेका छन।  आइतबार आज स्वास्थ्य मन्त्री गिरीले नेपालगञ्ज उपमहानगरपालिका– ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको स्वास्थ्य अवस्थाबारे अनुगमन गरेकाहुन।

मन्त्री गिरीले अनुगमन गर्दै स्वास्थ्यकमीसँग परामर्श गर्नुका साथै दादुरा नियन्त्रण गर्न सबै काम छोडेर दादुरा रुवेलाविरुद्धको खोपमा तीव्रता दिन आग्रह समेत गरेका छन। दादुरा नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने मन्त्री गिरीको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिकामा तीव्र गतिमा फैलिरहेको दादुराबाट अहिलेसम्म २६० जना बालबालिका सङ्क्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार पुस १२ गते फैलिएको दादुरा माघ सात गतेसम्म नेपालगञ्जमा २०३, कोहोलपुरमा पाँच, खजुरामा १८, नरैनापुर २६, डुडुवा आठ गरी २६० जनामा दादुरा पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये नौ महिनाभन्दा कम उमेरका १५, नौदेखि १५ महिनासम्मका १६, १५ देखि दुई वर्षसम्मका १८, दुईदेखि पाँच वर्षसम्मका ७२ र पाँच वर्ष वा सोभन्दा माथिका उमेरका १३९ जनाका बालबालिका सङ्क्रमित भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सरकारले दादुरा रुवेला नियन्त्रण गर्ने उद्देश्यले ६ देखि १५ वर्ष उमेरका बालबालिका पुस २२ गतेबाट दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालनमा ल्याएको छ । अहिलेसम्म ८९ हजार ४५८ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ७२ हजार ९३१ जनाले दादुरा रुवेलाविरुद्धको खोप लगाइसकेका छन् ।