हामीलाई थाहा छ, भ्रष्टाचार गर्नुहुन्न । भ्रष्टाचार जघन्य सामाजिक अपराध हो । यसले मानव सभ्यतालाई तहसनहस गराउँछ । सबै कुरा थाहा छ तर हामीलाई एकै पटक धनी बन्न मन लाग्छ । समाजका धनी व्यक्तिलाई हामी निकै आदर/सत्कार गर्छौं । कसैले छोटो समयमा धेरै धन आर्जन ग-यो भने उसलाई उच्च सम्मानका साथ कदर गरिन्छ । फलानो त निकै राम्रो छ । छोटो समयमा यति धेरै धनसम्पत्ति कमायो भन्दै उदाहरणका रूपमा उसकै नाम जपिरहन्छौँ । 

ऊ छोटो समयमा कसरी धनी भयो ? उसले पैसा के–कस्ता काम गरेर आर्जन ग-यो ? के उसले सम्पत्ति राम्रो काम गरेर कमाएको हो त ? यस्ता सवालमा हाम्रो समाजको सोचाइ पुग्न सकेको छैन । बरु हामी सबैलाई छिटै धनी बन्न मन लाग्छ । धन भएपछि सबै कुराको समस्या समाधान हुन्छ भन्ने खराब चेतना छ । हुन पनि हो, हाम्रो समाजमा धन भएपछि सबै कुरा प्राप्त हुने वातावरण सिर्जना हुन्छ । धन दिएपछि मान, सम्मान, इज्जत, प्रतिष्ठाको खातैखात हुन्छ । 

धनको अगाडि सदाचार र नैतिकताको कुरा एकादेशको कथामा परिणत गर्दैछौँ हामी । हाम्रा पूर्वीय दर्शनका कुरा सबै क्रमशः बिर्संदैछौँ हामी । काम गर्न अल्छी गर्ने अनि एकै पटक पैसा कमाउन पाए हुन्थ्यो भन्ने खराब प्रवृत्तिले जरो गाडेको छ समाजमा । परिश्रम गरेर पसिनाको कमाइ खानेलाई माया, सम्मान र आदर गर्दैनौँ हामी । आफ्नो काम आफैँ गर्न लाज लाग्छ हामीलाई । अनावश्यक तडकभडक र आडम्बर देखाएर आफू ठूलो हुँ भन्ने भ्रम छ– हाम्रो समाजको मानसिकतामा । वर्तमान आवश्यकता के हो ? आफ्नो सामाजिक दायित्व, पारिवारिक दायित्व कस्तो छ ? आफ्नो कर्तव्य पूरा नगरी अधिकार मात्र खोजेका त छैनौँ ? एक पटक गम्भीर भएर सोच्नु जरुरी छ । भनिन्छ, “घाँटी हेरेर हाड निल्नुपर्छ” तर खै त हामीले त्यसो गरेको ? हाम्रा सामाजिक क्रियाकलाप झन् झन् भड्किलो बन्दै गइरहेका छन् । 

जन्मदिन, न्वारन, पास्नी, व्रतबन्ध, विवाह, विवाहको वर्षगाँठलगायतका दिनमा आवश्यकताभन्दा बढी फजुल खर्च गर्ने प्रवृत्ति बढ्दो छ । चर्को ब्याजमा ऋण खोजेर भए पनि अरूलाई सानदार पार्टी दिँदा आफू ठूलो हुन्छु भन्ने अचम्मको भ्रम छ हामीभित्र । भोजभतेरमा गएर आफूले खानसक्ने भन्दा दुई गुणा बढी प्लेटमा हालेर मिल्काउँदा आफू निकै पुरानो, संस्कारी भएको ठान्छौँ हामी आफूलाई । समाजमा बसेर यति धेरै असामाजिक बन्न हामीलाई कसले सिकायो ? 

भ्रष्टाचार बहुआयामिक विषयहो । कसैको एकल प्रयासले मात्र यसमा कमी हुँदैन । भ्रष्टाचारविरोधी कानुन निर्माण हुँदैमा, भ्रष्टाचार गर्दिनँ भनी कसम खाँदैमा पनि भ्रष्टाचार घट्दैन । यो त हाम्रो समाजको आनीबानीमा जरा गाडेर बसेको छ । हाम्रा सोचाइ, हाम्रा हेराइ, हाम्रा भोगाइ र हाम्रा रोजाइ नै भ्रष्टाचारमैत्री छन् । भ्रष्टाचारलाई मलजल गर्ने हाम्रो मानसिकता अचल भएर रहेको छ । भ्रष्टाचार न्यूनीकरण गर्न, अझ बढीभन्दा बढी भ्रष्टाचार निवारणका लागि राज्य, सरकार र अन्य सबै पात्रको बाक्लो उपस्थिति र ऐक्यबद्धता रहेको छ । भ्रष्टाचारमुक्त समाजको परिकल्पनासहितको नेपालको संविधान छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय अभ्यास र सन्धिको समेत नेपाल पक्षराष्ट्र भएको छ । 

सार्वजनिक, निजी, सहकारी, सामुदायिक तथा गैरसरकारी क्षेत्रका भ्रष्टाचारजन्य गतिविधिलाई कानुनको दायरामा ल्याउन आवश्यक कानुनको तर्जुमा गर्ने प्रयास जारी छ । यसका साथै अन्य विविध कानुनी र संस्थागत व्यवस्था विद्यमान हुँदाहुँदै पनि भ्रष्टाचार किन घट्न सकेको छैन ? यसमा हामी सरोकारवाला सबैले ध्यान दिन जरुरी छ । अचम्म त यो मानेमा भयो कि भ्रष्टाचारविरोधी कानुन निर्माण गर्दा नै नीतिगत भ्रष्टाचार हुनु, भ्रष्टाचार नियन्त्रणका लागि स्थापना भएका संस्थालगायत संवैधानिक निकायका प्रमुखसमेत भ्रष्टाचारको मुद्दामा पर्नु लाजमर्दो अवस्था भएन र ?

राज्यले भ्रष्टाचार न्यूनीकरणका लागि जतिसुकै लगानी गरे पनि जबसम्म हाम्रो मानसिकतामा भ्रष्टाचार गर्नुहुन्न भन्ने सोचविचार आउँदैन, तबसम्म भ्रष्टाचार समाजबाट बाहिर निस्कँदैन । हाम्रो समाजको सोचविचारमा नै भ्रष्टाचार छ । हामीले समाजमा दैनिक रूपमा गर्ने क्रियाकलापले भ्रष्टाचार गर्न मद्दत गरिरहेको छ । समाजमा पैसा भएका व्यक्तिलाई उच्च सम्मान दिने प्रवृत्तिले गर्दा आर्थिक अपराधका घटना बढिरहेको छ । हामीले भ्रष्टाचारको विरुद्धमा शून्य सहनशीलताको अभ्यास गर्ने भन्छौँ तर कसैले आर्थिक अपराध गरेर कमाएको धनलाई उच्च सम्मान गर्छौं । यो हुनुको प्रमुख कारण भनेको हाम्रो मानसिकताको कमजोरी हो । हाम्रो दृष्टिकोण र चेतनाको कमजोरी हो । 

परिवर्तनका लागि हरेक कुरा सम्भव छ । भ्रष्टाचार निवारण गर्नु कठिन काम हो तर हाल हाम्रो समाजमा भइरहेको भ्रष्टाचार न्यूनीकरण गर्न सजिलै सकिन्छ । यसका लागि समाजका हरेक व्यक्तिमा दृढ इच्छाशक्ति जरुरी छ । आफूसँग जेछ, त्यसैमा रमाउने बानीको विकास गरौँ । आफूले गर्न सक्ने काम निकै मेहनतका साथ खुसी भएर गर्ने बानी बसालौँ । परिश्रम नगरी छोटो समयमा धनी बन्ने खराब सोच त्यागौँ । 

समाजमा कसैले एकै पटक धेरै पैसा कमाएको छ भने त्यसको स्रोत के हो भनेर सोध्ने, खोज्ने गरौँ । पैसा जीवनको साधन त हो तर साध्य होइन भन्ने कुरा आफूले बुझौँ अनि अरूलाई पनि बुझाऔँ । हाम्रा पूर्वीय दर्शनका कुरालाई सामाजिक कामकुरा र व्यवहारमा अनुसरण गरौँ । परिवारभित्रैका कुनै सदस्यले एकै पटक टन्न पैसा लिएर आएमा त्यसको पनि स्रोत सोधौँ । यदि आर्थिक अपराध गरेर ल्याएको रहेछ भने उसलाई परिवारबाट नै बहिष्कार गर्ने पद्धतिको विकास गरौँ । 

हामी आफैँले आफ्नो नियमसङ्गत नहुने कामलाई घुस दिएर गराउने अनि भ्रष्टाचार भयो भन्ने अहिलेको आमप्रवृत्तिको विरोध गरौँ र आफूबाट नै यसको अन्त्य गरौँ । समाज यस्तो ठाउँ हो, जहाँ सबैथोक हुन्छ । समाजभन्दा बाहिर मानिसको अस्तित्व निर्माण हुन सक्दैन । भ्रष्टाचार गर्न सिकाउने पनि समाज हो । भ्रष्टाचारविरोधी गतिविधि र क्रियाकलाप सुरु गर्ने पनि समाज हो । जे हुन्छ, जे गरिन्छ, जस्तो बनाइन्छ, जस्तो निर्माण गरिन्छ त्यस्तै बन्छ समाज । त्यस्तै निर्माण हुन्छ समाज । 

हामी एक्काइसौँ शताब्दीका सभ्य र आधुनिक मानिस हौँ । आफूले आफूलाई कहिल्यै कमजोर नसोचौँ । हाम्रा सामाजिक आनीबानी र आचरणमा सदाचार र नैतिकताको फूल ढकमक्क फुलाऔँ । आफूसँग जे छ, त्यसैमा सन्तोष मानौँ । सन्तोष नै सबैभन्दा ठूलो सुख हो, यो कहिल्यै नभुलौँ । सादा जीवन – उच्च विचारको अनुसरण गरौँ । श्रमलाई सम्मान गरौँ । परिश्रमको फल मिठो हुन्छ । भनिन्छ, ‘बाबुले किनेको भैँसीभन्दा आफूले बाटेको दाम्लो प्यारो’ भन्ने भनाइलाई व्यवहारमा लागू गरौँ । त्यसैले भ्रष्टाचार आफूले नगरौँ अनि अरूलाई पनि गर्न नदिऔँ । असल आचरणको अभ्यास आफूबाट सुरु गरौँ, अनि घर–परिवार हुँदै सिङ्गो समाजलाई असल समाजमा रूपान्तरण गर्न पहल गरौँ । 

हामी सङ्घीयता कार्यान्वयनको चरणमा छौँ । तीनवटै तहका सरकारले भ्रष्टाचार न्यूनीकरणका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरेका छन् । चाहे एकात्मक होस् वा सङ्घात्मक भ्रष्टाचार हुने भनेको समाजमा हो र भ्रष्टाचार गर्ने भनेको पनि समाजले हो । त्यसैले यसको न्यूनीकरणका लागि हरेक समाजले आफ्नो सामाजिक दायित्व पूरा गरौँ । राज्य, सरकार र सरकारबाहिरका सबै पात्रले भ्रष्टाचार न्यूनीकरणका लागि आवश्यक कदम अगाडि बढाऔँ । अरूको मुख नताकौँ । भ्रष्टाचारको विरुद्धमा शून्य सहनशीलताको मानसिकता विकास गर्दै सभ्य समाजको निर्माण गर्नु आजको आवश्यकता हो ।