बाँके\नेपालगञ्जबाट चिरिएका पैताला लिएर माइतीघरको सडकमा धर्ना दिन आएका १६ महिलाहरूको कथा सधैं सम्झनामा छन्। 

अघिल्लो साल २० दिन पैदल हिँडेर सडकमा निर्मला कुर्मीहरूका लागि न्याय मागिरहँदा सरकार झस्किएको थियो।
कठ्यांग्रिदो हिउँद होस् वा टन्टलापुर घाम। वा त शरीर भिजाउने झरी।

न्यायको आन्दोलनमा होमिएका ती दृढ महिलाहरूको अग्रपंक्तिमा उभिएर माइतीघरमा राज्यको प्रहार छेकिरहेकी हुन्थिन् रुवी खान। 

आजकल उनी माइतीघर भेटिन्नन्। तर नेपालगञ्जमा न्यायका निम्ति आवाज मुखरित बनाइरहेकी छन्।

महिला हिंसा विरुद्धको १६ दिने अभियान(२५ नोभेम्बर-१० डिसेम्बर) देशभर चलिरहेको छ। ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ नारासहित अभियन्ताहरूले आवाज बुलन्द बनाइरहेका छन्।

यतिबेला हामीले सम्झियौँ रुवीलाई। उनीसँग आन्दोलनका कठोर भोगाइ छन्। सत्ताले गरेको दमनका तीता अनुभूति छन्।

नेपालगञ्जका निर्मला कुर्मी र नन्कुन्नी धोवीको पटक पटकको यातनापश्चात हत्या भयो। हत्याका आरोपितहरू अझै खुलेआम हिँडिरहेका छन्।

यसविरुद्ध ०६६ सालदेखि लडिराखेकी छन् रुवी। तर न्‍याय कसले दिने हो थाहा छैन।

राज्यले त्यति सजिलै न्याय दिदैँन भन्ने थाहा छ रुवीलाई। ‘महिलालाई अझ राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा नै तहगत हिंसा भइरहेको छ। न्याय कसले दिन्छ,’ रुवी भन्छिन्।  

आमाबाट सिकेको विद्रोह

रुवी विसं २०४४मा नेपालगञ्जमा जन्मिइन्। परिवारको तेस्रो सन्तान।

बाल्यकालमा बुबा गुमाएकी रुवीले परिवारमा थुप्रै अभाव झेलेकी छन्। उनी मुस्लिम समुदायको सामान्य परिवारमा हुर्कइिन् उनी।

आमाले ज्याला मजदुरी गरेर परिवारको संकट टार्थिन्।

रुवी हुर्केको समुदायमा छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता थिएन। समाज पढाइको तगारो थियो। दिदी गुडीया खानले नारायण माध्यमिक विद्यालयमा कक्षा ३सम्म पढिन्। बुवाले विद्यालयबाट गुडियालाई निकाले।

थप पढाइ इज्जत जान्छ भन्ने मान्यता थियो। स्कुल छुटेपछि दिदीको १३ वर्षमै विहे भयो। 

दिदी पढेकै स्कुलमा रुवीलाई आमाले भर्ना गरिन्। कक्षामा तीन जना मात्र मुश्लिम केटी। अधिकांश अरु समुदायका। त्यही तगारोलाई तोड्न रुवीले सानैदेखि विद्रोही स्वभाव अँगालिन्।

रुवी ४ कक्षामा उक्लिइन्। बुवाले अब निकाल्ने निर्णय गरे। तर आमाको सपना थियो छोरी पढाउने। बासँग झगडा गरेरै रुवीको पढाइलाई निरन्तरता दिइन्। कक्षा १०सम्म आमाले परिवार र समाजसँग विद्रोह गरेरै पढाइन्। 

गाउँमा उनको पढाइ छुटाउने प्रयत्न कहाँ नभएको हो र!

गाउँकै मुखियासम्म आएर रुवीको पढाइमा बिराम लगाउने प्रयत्न गरे। ‘छोरी सिसाको भाँडा हो। पढेर होइन घर गरेर खानुपर्छ,’ उनले सधैँ यो वाक्य सुनिरहिन्।

बुबाको निधनले परिवारमा शोक निम्त्यायो। ‘तर  बुवा भएको भए म त्यो बेला पढ्न कहाँ पाउँथे होला र!’ ,’ बाँचुन्जेजल पढाइ रोक्ने बुबाको प्रपञ्चलाई उनी कहिल्यै माफ गर्दिनन्।

रुवीले पढेको कारण दाइले पनि पढे। रुवीले ०६४ सालमा एसएलसी दिइन्। 

रुवीको पढाइ जारी छ।

उनी कानुन पढिरहेकी छन्। ‘कानुनमा महिलाको पहुँच नहुँदा न्याय पाउन मुस्किल देखेँ। त्यसैले कानुन पढ्न थालेँ’, उनी भन्छिन्।

स्कुल पढेदेखि नै रुवी सामाजिक अभियान र संस्थाहरूमा सक्रियता देखाउन थालिन्। कक्षा ८ पढ्दापढ्दै नेपाल मुस्लिम समाज विकास सूचना केन्द्रमा उनी आवद्ध भइन्। बेलुका उनी त्यही संस्थामा काम गर्थिन्। 

मुस्लिम समुदायभित्र हुने महिला हिंसाविरुद्ध काम गर्थ्यो त्यो संस्था। महिला सशक्तीकरणका कार्यक्रम निरन्तर अगाडि बढ्दै गर्दा रुवीभित्र न्याको स्वर गुन्जिरहन थाल्यो। उनी त्यतिबेलादेखि नै सामाजिक रुपान्तरणमा सक्रिय हुन थालिन्।

संगठनमा दबाब समूह थियो। नेपालगञ्जकी निर्मला कुर्मी दबाब समूहमा आवद्ध थिइन्। ०६६ सालमा रुवी महिला अधिकार मञ्च बाँकेको जिल्ला सदस्य भइन्। यो संस्थाले महिला हिंसामा परेकोलाई न्यायका लागि बहस पैरवी गर्थ्यो। 

सडकमा लैजाने दुई घटना
१८माघ, ०६६। निर्मला कुर्मीले महिला अधिकार मञ्चमा पुगेर छिमेकी बादशाह कुर्मीले हिंसा गरेको बताइन्।

उनले बादशाहबाट भोगेको यातना सुनाइन्। उनी माथि भएको हिंसा सुनेर रुवी असह्य बनिन्। निर्मलाको आँसुलाई शक्तिमा बदल्ने अठोट गरिन् रुवीले। 

त्यसबखत निर्मलाका दुई छोराको हत्या भयो। उनले पोस्टमार्टम गरिदिनुपर्यो भनेर प्रशासनमा हारगुहार गरिन्। रुवी निर्मलाको पीडामा सँगै उभिएकी थिइन्।

उनीहरू उत्पीडनविरुद्ध लडिरहँदा पनि हिंसा रोकिएन। 

एकदिन निर्मलाको अपहरण भयो। अपहरण गरेको भन्दै रुवीले ०७७ साल मंसिर १४ गते उजुरी दिइन्। उजुरी दिएको एक महिना नपुग्दै निर्मलाको हत्या भयो। फेरि सदरमुकाम गएर प्रहरीमा रुवीले उजुरी दिइन्। उजुरी दिन रुवीले गरेको संघर्ष कठिन थियो।

प्रहरी कार्यालयमा चैत १४ गते कर्तब्य ज्यानको मुद्दा हालिन्। मुद्दा चैत २० गते मात्र दर्ता भयो। 

अर्को घटना ०७८ सालको हो। असारमा नन्कुन्नी धोवीको श्रीमान्बाटै घरेलु हिंसा भयो। उनले आफूमाथि परिवारले पटक पटक शारीरिक र मानसिक यातना दिएकामे भन्दै उजुरी दिइन्। नन्कुन्नीसँगै रुवी न्यायको लडाइँमा उभिइन्। 
उजुरीको एक महिनापछि साउन ५ गते नन्कुन्नीको हत्या भयो। हत्या परिवारले नै गरेको भनेर माइतिपक्षले उजुरी दिए। रुवी नन्कुन्नीको परिवारको साथमा थिइन्।

यी दुई लडाइँमा रुवी न्यायका लागि लडिरहेकी छन्। नन्कुन्नीलाई पनि प्रहरीले आत्महत्या गरेको भनिदियो। प्रहरी र पीडकविरुद्ध रुवीले आन्दोलन छेडिन्।

१९ दिने धर्ना
दुई घटनाको प्रहरीले जाहेरी समेत लिन मानेनन्। सामान्य महिलाले कहिले न्यायको अनुभुति गर्न नपाएको साक्षी रुवी आफैं हुन पुगिन्। उनले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना सुरु गरिन्। 

०७८ भदौ १३ गते प्रशासनको गेटमा ३०/३५ महिलाको समूह नेतृत्व गर्दै धर्नामा बसिन् उनी। तर न्यायको प्रत्याभुत भएन। १९ दिनसम्म सुनुवाइ नभएपछि उनले सोचिन्, ‘ अब हामी सिंहदरबार अगाडि गएर न्याय माग्छौँ।’ 

५ सय २० किलोमिटरको पदैलयात्रा
नेपालगञ्जका १४ जनाको समुह बनाएर उनले काठमाडौं पैदल यात्रा गर्ने निर्णय गरिन्। उनीहरूको १६ जनाकोे समूह २० दिनको पैदल हिँडेर माइतीघर आइपुग्यो। 

असोज १ गते पैदल यात्रा गरेका उनीहरू २१ गते काठमाडौं पुगे। खुट्टा थाके होलान्। ओठमुख सुके होलान्। समस्याका चाङ्ग देखिए होलान्। ‘त्यो २० दिनको पैदल यात्राले कुर्कुच्चा फुटे होलान्, तर विश्वास कहिले टुटेन,’ रुवी भन्छिन्।

त्यतिबेला प्रहरीबाट पटक पटक धरपकड भयो। उनीहरू पक्राउ परे। रुवी अनसन बसिन्। उनलाई पक्राउ गरेर विभिन्न मुद्दा लगाउन खोजियो। तर, उनी डगिनन्। त्यतिबेला उनले आफूलाई मानसिक यातना दिएको बताएकी थिइन्।

२ दिन धर्ना बसेपछि गृह मन्त्रलायले छानबिन समिति बनाउने र प्रतिवेदन सार्वजनिक गर्ने सहमति गर्‍यो। सरकारको यही आश्वासनका कारण आन्दोलन स्थगित भयो। 

उनी आफ्नो समूहसहित घर फर्किइन्। तर नेपालगञ्जमा पुगेपछि भने कुनै अनुसन्धान भएन। छानविन समितिले कुनै प्रतिवेदन सार्वजनिक गरेन। 

४१ दिन  माईतिघरमा धर्ना
जीवनमा बिराम हुन सक्छ। तर थकान कहिले हुँदैन। रुवीको जीवनमा लागू भएको कुरा हो यो। 

अनुसन्धान नभएपछि रुवीले फेरि काठमाडौं यात्रा तय गरिन्। न्याय नपाउन्जेल उनी थाक्नेवाला थिइनन्। मंसिर ९ गते फेरि काठमाडौंको आएको रुवी समूह माइतीघरको चिसो भुइँमा ४१ दिनसम्म धर्ना बस्यो।

कलंकीबाट माइतीरघरसम्म हरेक दिन हिँडेर आउजाउ गर्थे उनीहरू। 

४१ दिनपछि गृहमन्त्री बालकृष्ण खाणले फेरि छलफलका लागि बोलाए। छानविन समितिबाट प्राप्त प्रतिवेदन सार्वजनिक गर्ने, रुवीहरूको सुरक्षा गर्ने र घटनाको सत्यतथ्य छानविन गर्ने आश्वासन दिए। तिनै आश्वासन बोकेर घर फर्किरहेका रवीहरूले आजसम्म न्याय पाइरहेका छैनन्। ‘न्याय कहाँ सजिलो पाइने रैछ र!’ रुवी भन्छिन्। 

उनका अनुसार घटनाको अनुसन्धान भएको छैन। आरोपित बादशाह कुर्मी अहिले नेपाली कांग्रेसबाट बाँके ३ ‘२’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। उनले बादशाहको उम्मेदवारी खारेजी गर्न पनि उजुरी दिइन् निर्वाचन आयोगमा।

तर सुनुवाइ भएन।  राज्यले अझै सुनेको छैन। जोविरुद्ध लडेको हौं। उही संसदमा पुगे। तर हामी सडकबाटै विद्रोह गरिरहनेछौं छ’, रुवी दृढ सुनिन्छिन्।