काठमाडौं । २१ वर्षअघिको चर्चित फिल्म ‘दर्पणछायाँ’को तेस्रो श्रृंखलाको छायांकन अंग्रेजी नयाँ वर्ष २०२३ सँगै सिक्किमबाट सुरु हुने भएको छ ।

यसै महिनाभित्र फिल्मको मुहूर्त हुने र जनवरीबाट छायांकन सुरु गर्ने योजना रहेको सिक्किम फिल्म बोर्डकी अध्यक्ष पूजा शर्माले अनलाइनखबरलाई जानकारी दिइन् ।

निर्देशक तथा अभिनेता उत्तम प्रधान र अध्यक्ष शर्माबीच ‘दर्पणछायाँ ३’ को छायांकनका विषयमा छलफल भएको छ । ‘दर्पणछायाँ’मा प्रमुख भूमिकामा देखिएका उत्तमले तेस्रो शृंखलामा अभिनयका साथै निर्देशन समेत गर्दैछन् ।

फिल्ममा उत्तमसहित दिलीप रायमाझी र निरुता सिंह प्रमुख भूमिकामा हुनेछन् । अधिकांश कलाकार सिक्किमबाट लिने उत्तमले यसअघि नै जानकारी दिइसकेका छन् । यसअघि निरुता र उत्तम दुवैले फिल्मको छायांकन जतिसक्दो चाँडो गर्नेतर्फ आफूहरु जुटेको बताएका थिए ।

दर्पणछायाँका अघिल्ला दुई शृंखलाको निर्देशन तुलसी घिमिरेले गरेका हुन् ।

अभिनेता प्रधान र बोर्ड अध्यक्ष शर्माबीच कलाकारलाई परिचयपत्र बाँड्ने, सिक्किम सरकार मातहत सेन्सर बोर्ड गठन गर्ने, फिल्म सिटी र सिनेमाघर निर्माण गर्नेबारे पनि छलफल भएको थियो ।