राप्रपा नेपालले देशब्यापी अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्दैछ । पछिल्लो समय प्रदेश स्तरिय कार्यक्रममा जुटेको पार्टीले संगठन निर्माणलाई केन्द्रमा राखेर गतिविधि अगाडि बढाईरहेको छ । यसै सन्दर्भमा सुदुरपश्चिम प्रदेश स्तरीय कार्यक्रममा सहभागी हुन आएका राप्रपा नेपालका महामन्त्री एबं संगठन बिभाग प्रमुख राजाराम बर्तौलासङ्ग न्युज नमस्तेले गरेको संक्षिप्त कुराकानी :-

राप्रपा नेपालको पछिल्लो गतिविधि र भाबि कार्यक्रम के छ ?
– राप्रपा नेपाल नेपालको राष्ट्रिय राजनितिमा स्पष्ट बिचार र अलग पहिचान सहित कृयाशिल राजनैतिक शक्ति हो । हामी सम्बर्द्धनवाद, सुसाशन र समृद्धिको मुल एजेन्डा बोकेर जनताको माझमा छौं । हाम्रा बारेमा केही भ्रमहरु छन् ,प्रश्नहरु छन् ,त्यो स्पष्ट पार्दै अघि बढेका छौ । बिस्तारै भ्रम हटेर गएको छ । जनताको माया,सद्भाव र बिश्वास जित्ने क्रममा छौं । प्रदेश स्तरीय अन्तरक्रिया र अगुवा कार्यकर्ता भेलाहरु सफलता पुर्बक सम्पन्न भैरहेका छन् । बागमतिको हेटौंडा , १ नम्बर प्रदेशको बिराटनगर , मधेस प्रदेशको जनकपुर , लुम्बिनी प्रदेशको बुटवल ,गण्डकी प्रदेशको पोखरामा कार्यक्रम सम्पन्न भएका छन् ,अब हामि अन्तिम चरणमा छौ । सुदुरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा कार्यक्रम आयोजना हुनेछ । सबै बर्ग, क्षेत्र र समुदायका ब्यक्तिहरु सङ्ग अन्तरक्रिया भैरहेको छ , राम्रो “फिडब्याक” आएको छ । राप्रपा नेपाललाई हामी सबै मिलेर उठाउछौ, बलियो शक्ति बनाउछौ ।

राप्रपा नेपाल कसरी उठ्छ? बलियो बन्छ ? आधार के छ ?

  • हामी सत्य, निष्ठा, यथार्थता र इमानदारिताको मार्गमा छौ । बलियो बिचार, शसक्त, खारिएको र अनुभवी नेतृत्व , इमानदार र मेहनती नेता कार्यकर्ताको सत्प्रयास , जनताको बिश्वास अनि मुलुकको धरातलिय यथार्थका कारणबाट हामी उठ्छौ । राप्रपा नेपाल योजन, कार्यक्रम , सकृयताको बलमा उठ्छ । ठुला भनिने दल काङ्ग्रेस ,कम्युनिस्टहरुको गलत मार्गचित्र, भ्रस्टाचार , कुशासनबाट जनता वाक्क दिक्क छन् ,बिकल्प खोजिरहेका छन् ,हामी नै त्यो बैकल्पिक शक्ति बन्छौ ।

राप्रपा नेपालले राजा छोडेकोमा ठुलो आलोचना सुनिन्छ , के भन्नुहुन्छ?

  • राप्रपा नेपालले राजा छोडेको होइन , राजाले चाहिँ हामिलाई छोडेका हुन । त्यो बाताबरण राजा स्वयमले निर्माण गरेका हुन् । हामी राजा बनाउनु पर्छ भनेर हिड्ने, राजा चाहिँ राजा हुन भन्दा व्यापार ब्यबसाय र धन आर्जनमा रमाउने प्रवृत्ति देखियो । सबैको साझा राजा ,अभिभावक हुनु भन्दा राजनैतिक दलमा खेल्ने, गुट उपगुट निर्माण गर्ने, ब्यक्ती समूहलाई उचाल्ने जस्ता सानो तिनो फुच्चे खेलमा रमाएपछी हामिले बोकेको राजसंस्थाको मुल मर्म माथी नै प्रहार भयो । यो बाध्यत्माक कदम हो । कसैले राजालाई ल्यायर पुनर्स्थापना गर्छ भने हामि बिरोध गरेर हिड्दैनौ । हाम्रो त्यो संस्थाप्रति आदर सम्मान नै छ ।

स्थानिय चुनाबको तपाईंहरुको नतिजा उत्साहजनक भएन,आगामी चुनाबको तयारी के छ ?

  • हाम्रो स्थानीय चुनावमा धेरै ठुलो अपेक्षा थियन । निर्बाचन आयोगमा दर्ता भएको मध्य हाम्रो पार्टी कान्छो पार्टी थियो । तर पनि जुन उत्साह र उर्जाका साथ पार्टी चुनाबमा गयो, एमालेले हामीसङ्ग राजनीतिक रुपमा मिलेर जाने सहमति भयो, यो सकारात्मक पक्ष हो । हाम्रो साङ्केतिक रुपमा उपस्तिथि भएको छ, वडामा चुनाव जितेका छौ। अब कसरी अघि बढ्ने, कसरी जनताको बिश्वास आर्जन गरेर निर्बाचन जित्ने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।

ठुलो पार्टी छोडेर राप्रपा नेपालमा किन लाग्ने ?

  • मुलुकको धर्म संस्कृती र पहिचान रक्षाको निमित्त अबको पुस्ताले राप्रपा नेपाल रोज्नुपर्छ । भ्रष्टाचार र बेरोजगारीको अन्त्य, सुशासन र समृद्धिको निमित्त राप्रपा नेपाल बलियो हुनुपर्छ । मुलुकलाई सबल, समुन्नत र स्वाधिन बनाउनको निमित्त राप्रपा नेपाल बलियो शक्ति बन्नु आजको आबश्यकता हो ।

फेरी राप्रपासङ्ग पार्टी एकता हुने सम्भावना चाहिँ कत्तिको छ ?

  • अहिलेलाई मैले यो सम्भावना चाहिँ देखेको छैन । किनकी सैद्धान्तिक बैचारिक रुपमा निकै ठुलो असमानता छ । गएको महाधिवेशनबाट उहाँहरु सकृय राजतन्त्रको पक्षमा रहेको स्पष्ट देखिन्छ । जुन कुरालाई राप्रपा नेपालले स्विकार्न सक्दैन । अहिले राप्रपा नेपाल आफ्नो अभियानमा केन्द्रित छ । समान बिचार बोक्ने ब्यक्ति ,समूह पार्टी सङ्गको एकताको निमित्त राप्रपा नेपाल सदैब सकारात्मक छ, खुल्ला छ ।