कोहलपुर / कोहलपुर नगरपालिका भित्रका कर्मचारीले काजमा काठमाडौं गएको देखाउँदै कानून विपरीत भत्ता बुझेको पाइएको छ । गत जेष्ठ १६ गतेदेखि सञ्चालन भएको कक्षा १२ को परीक्षामा सहभागी भएका उनले कार्यालयको कामको लागि काजमा काठमाण्डौं गएको देखाउँदै कानून विपरीत भत्ता बुझेको पाइएको छ ।

कोहलपुर नगरपालिकामा फायरमेनमा करार नियुक्त भएका राजेन्द्र टमटा अहिले योजना तथा अनुगमन उपशाखामा कार्यरत छन् । टमटाले जेष्ठ १३ गतेदेखि १९ गतेसम्मको काठमाडौंमा कार्यालयको लागि भनी काज लिएका छन् । तर यता भने कक्षा १२ को परीक्षामा सहभागी भएका छन् । काजमा गएको १० हजार ५ सय भत्ता समेत लिएको बुझिना आएको छ । उनले कोहलपुरमा सञ्चालित एभरेष्ट माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् ।

प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख कर्ण बहादुर थापाले काज लिएर परीक्षा दिन नपाइने वताए । उनले भने, ‘म संग काजमा जाने भनी आदेश आएको हुन्छ, त्यसमा चलान टिपोर्ट गर्ने मात्र मेरो काम हो अरु अधिकार मेरो केही हुँदैन । छवीलाल नेपाली हुँदा पनि २०० जना काजमा गएका थिए तर ५०/५५ जनाले मात्र कार्यालय काममा गएका होलान अरु सबै आफ्नै काममा गएका थिए ।’ अहिले पनि राजेन्द्र टमटाले पहिले (१३-१९) काठमाडौंमा काजमा गएको थापाले पुष्टी गरे । तर के कामको लागि खुलाएको छैन तर अहिले फेरी थप दुई दिन बिदा लिएको थापाले वताए ।

कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले कानून विपरीत काम गर्नेलाई कारवाहीको भागेदारी हुनुपर्ने वताए । ‘कार्यालयको कामको लागि काठमाडौं पठाउने भनी सिफारिस आएपछि शाखाको कुनै काम होला भनेर स्वीकृत गरे । तर काज लिएका व्यक्ति कार्यालय कै काममा होलान भन्ने हो कसैको पछि लाग्न सकिदैन, त्यसैले यसको विरुद्धमा छु। यसको प्रमाण फेला पर्ने वित्तिकै कारवाही गर्नेछुु, बरु यस्ता प्रमाण भए मलाई उपलब्ध गराउनुहोला ढकालले भने ।’

कार्यालयको कामको लागि काठमाडौंमा काजमा पठाउने कागजमा सिफारिस आयो । कार्यालय कामका लागि शाखाले सिफारिस गरेको हुन्छ । सोही बमोजिम स्वीकृत पाउँछन् ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले काजमा काठमाडौं जाने घरमै बसेर भत्ता बुझ्ने यो कानून विपरीत भएको र यो विषयमा प्रमाणहरु मसंग आएको छैन यदि आयो भने कारवाहीको भागेदारी हुने आचार्यको भनाइ छ । फायरमेन राजेन्द्र टमटाले भत्ता बुझेको स्वीकारेका छन् ।

कानूनमा के छ ?

भम्रण खर्च नियमावली-२०६४ मा अनुसूची २३ मा व्यवस्था भए अनुसार उपनियम (१) बमोजिम पाउने सुविधा लिने प्रयोजनको लागि भ्रमण गर्ने कुनै पदाधिकारी वा कर्मचारीले झुट्टा विवरण पेश गरी भुक्तानी लिएको ठहरेमा झुट्टा विवरण पेश गरी भुक्तानी लिएको रकमको दोब्बर रकम निज सरकारी सेवामा रहेको भए निजले पाउने तलबबाट कट्टा गरी लिइने छ र निजलाई कारबाही समेत गरिने व्यवस्था रहेको छ ।

(२) उपनियम (१) बमोजिम कट्टा नगरेमा त्यस्तो कट्टा नगर्ने पदाधिकारी वा कर्मचारीको तलबबाट असुल उपर गर्नु पर्नेछ र निजलाई विभागीय कारवाही समेत गर्न सकिनेछ । (३) उपनियम (१) वा (२) बमोजिम त्यस्तो रकम असुल उपर हुन नसकेमा सो रकम सरकारी बाँकी सरह असुल उपर गरिने व्यवस्था रहेको छ ।