कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले ढल व्यवस्थापनमा लापर्वाही गरिरहेको नेपालगञ्ज मेडिकल कलेजलाई पत्र काट्नुभएको छ । बर्षौंदेखि ढल व्यवस्थापनमा वातावरण प्रतिकूल काम गरिरहेको भन्दै मेयर आचार्यले नेपालगञ्ज मेडिकल कलेजलाई पत्र काट्नुभएको हो ।

अस्पतालबाट दैनिकरुपमा निष्काशन हुने फोहर पदार्थ र केमिकलजन्य फोहरमैला कोहलपुरस्थित डुडुवा खोलामा ढल विसर्जन भइरहेकोप्रति नगरपालिकाले चासो व्यक्त गरेको हो । अस्पतालको घातक फोहर सिधै ढलमा मिसाउँदा वातावरण प्रदुषणसंगै जैविक विविधता नष्ट भइरहेकोप्रति चासो राख्दै मेयर आचार्यले पत्र काटेको बताउनुभयो।

‘मैले पहिलो पत्र काटेको छु, ढल व्यवस्थापनमा भइरहेको लापर्वाहीलाई नजरअन्दाज गर्न सकिँदैन, उहाँले भन्नुभयो–‘बर्षौंदेखि अटेर गरेर दुषित केमिकलयुक्त फोहरमैला खुलेआम नालामा मिसाउनु गम्भीर गल्ती हो, यसमा नगरपालिकाले विशेष चासो दिएको छ ।’

उहाँले अस्पतालको फोहरमैला व्यवस्थापन एवम् ढल निकास मापदण्ड बमोजिम गर्न सचेत गराउनुभएको छ ।

स्थानीय जनताको पटक पटकको आग्रहलाई अस्पताल स्वयम् तथा यसअघिका मेयर र नगर विकास समितिले बेवास्ता गरेकोमा मेयरमा निर्वाचित भएर आएपछि आचार्यले यो विषयलाई विशेष प्राथमिकता दिनुभएको छ ।