कोहलपुर, १९ बैशाख / बाँकेको कोहलपुर नगरलाई विकासको मुलधारमा ल्याउनका लागि कोहलपुरका जनताले एक पटक विवेक प्रयोग गर्ने नेपाली काँग्रेसबाट कोहलपुर नगर प्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्यले बताएका छन् ।

जनताले अनुभुति गर्ने गरी विकासको आधार तय गर्नका लागि कोहलपुरका जनताले एक पटक आफ्नो विवेक प्रयोग गरी नेपाली काँग्रेसका उम्मेद्वारलाई बिजय गराउन आग्रह गरेका छन् ।

स्थानिय तहको निर्वाचन प्रचार प्रसार अभियानका क्रममा कोहलपुर नगरपालिका वडा नं. २ मा सम्पन्न भएको कोण सभा बोल्दै नगर प्रमुख पदका उम्मेद्वार आचार्यले काँग्रेसले कोहलपुरको विकास र समुन्नतिका लागि सबैसँग सहकार्य गरी जनताको आधारभूत समस्यासँग प्रत्यक्ष सरोकार राख्ने पक्षलाई ध्यान दिएर योजना निर्माण गरी कार्यन्वयन गर्ने प्रतिवद्धता समेत जनाएका छन् । साथै उनले कोहलपुर नगरपालिका वडा नं. २ जनतालाई शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीसँग जोड्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसको तर्फबाट नगर उपप्रमुख पदका उम्मेद्वार संगिता सुवेदीले कोहलपुर नगर भित्रका महिलाहरुलाई विभिन्न सिपमूलक तालिम प्रदान गरी आर्थिक रुपमा सक्षम बनाउनका लागि विशेष योजना साथ काम गर्ने प्रतिवद्धता जनाएकी छिन् । साथै उनले कोहलपुर नगरपालिका वडा नं. २ का जनताले भोग्दै आएका समस्याहरु समाधान गर्ने काँग्रेसको मुल ध्येय रहेको बताईन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता भानुभक्त भट्टराईले कोहलपुरमा नेकपा एमाले नेतृत्वको स्थानिय सरकारले पाँच वर्ष भ्रष्टचार, अनियमितता र जनताको भावना विपरित कार्य गरेको बताउँदै नेपाली काँग्रेसलाई एक पटक कोहलपुरको संस्थागत विकासका लागि भोट दिन आग्रह समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सदस्य राजेन्द्र श्रेष्ठले कोहलपुरलाई व्यवस्थित शहरका रुपमा विकास गर्न काँग्रेसको दृष्टिकोण सहित जनताको काममा लाग्ने प्रतिवद्धता जनाउँदै एक पटक कोहलपुरका जनताले काँग्रेसलाई भोट दिन आग्रह समेत गरेका छन् । निर्वाचन प्रचारप्रसार लक्षित कार्यक्रम नेपाली काँग्रेसले जारी गरेको छ ।