नेपालगन्ज, बैशाख १५ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीमाथी आक्रमण प्रयास भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित आर्दशनगर (ड्रिमल्याण्ड होटल) नजिक आक्रमण प्रयास भएको हो ।

नेपाली कांग्रेसका कार्यकर्ता एवम् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का वडासदस्य मनोज शाहीले बिहीबार बेलुका आक्रमण प्रयास गरेको बाल्मिकीले जानकारी दिए । ‘म सडकको किनारामा हिडिरहेको थिए, पछाडीबाट आइरहेका मनोज शाहीले स्कुटी मेरो शरिरमाथी चढाउन खोज्यो, म छेउतिर हाम फाल्न खोज्दा भुईमा लडे, तर आक्रमणबाट जोगिन सफल भए,’ उनले भने ।

शाहीले पटक पटक किच्ने प्रयास गरेको बाल्मिकीको भनाई छ । मदिरा सेवन गरेर लठ्ठ परेका शाहीले आफुलाई गाली गलौच पनि गरेको संविधान सभा सदस्य समेत रहेका पार्टीका केन्द्रीय सदस्य बाल्मिकीले बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का मनाेज शाही

नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसको तर्फबाट आसन्न निर्वाचनका लागि शाहीले वडाअध्यक्षमा आकांक्षा राखेका थिए । तर, कांग्रेस क्षेत्र नम्बर २ ले नरबहादुर बिष्टलाई वडाअध्यक्षको टिकट दिएको थियो । टिकट वितरणप्रति शाही असन्तुष्ट थिए । उक्त घटनापछि आफु निकै असुरक्षित महसुस गरेको केन्द्रीय सदस्य बाल्मिकीले बताए ।

स्थानीय प्रहरी, प्रशासनसँग आफ्नो सुरक्षाको ब्यवस्था मिलाउन उनले अनुरोध गरेका छन् । घटनाप्रति नेपाली कांग्रेसका नेता, कार्यकर्ताले दुःख ब्यक्त गरेका छन् । टिकट वितरणप्रति असन्तुष्टी भएपनि सम्मानित केन्द्रीय नेतामाथी आक्रमण नै गर्न खोज्नु उचित नभएको कांग्रेस नेता, कार्यकर्ताले बताएका छन् । घटनाबारे प्रतिक्रिया लिन सम्पर्क गर्दा शाहीको फोन अफ छ ।