वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सकिएको छ।   स्थानीय निर्वाचनका लागि एक लाख ५० हजार ४७९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखसँगै वडाअध्यक्षदेखि सदस्यसम्मले आइतबार र सोमबार मनोनयन दर्ता गराएका हुन्।  निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावका लागि देशभरबाट महानगर, उपमहानगर र नगरपालिका प्रमुखका लागि ३४ सय बढीले उम्मेदवारी दर्ता गराएका छन्। देशभर ३४ सय ६६ जनाले प्रमुख (मेयर) पदका लागि उम्मेदवारी दर्ता गराएको आयोगले उल्लेख गरेको छ। 

त्यसैगरी उपप्रमुख पदमा २१ सय ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सँगै गाउँपालिका अध्यक्षका लागि ३३ सय ७८ जनाले मनोनयन दर्ता गर्दा उपाध्यक्ष पदमा २३ सय ९२ जनाले मनोनयन दर्ता गराएका छन्। वडाध्यक्षका लागि ३४ हजार ९४२ जनाले मनोनयन दर्ता गरेका छन्। महिला सदस्यका लागि २६ हजार ६१, दलित महिला सदस्यका लागि २३ हजार ४५६ र खुला सदस्यका लागि ५४ हजार ६४० जनाले उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन्। 

उम्मेद्वारी दर्ता सकिए पछि  निर्वाचन आयोगले  उम्मेदवारी मनोनयन विरुद्धमा उजुरी दिन  सकिने  व्यवस्था मिलाएको छ। कतिपय स्थानमा उम्मेदवार विरुद्ध उजुरी पनि परेका छन्जा।  आयोगले जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको, गैर नेपाली नागरिक, मानसिक सन्तुलन ठीक नभएको आदिका विरुद्ध उजुरी दर्ता गर्न सकिने जनाएको छ।   

उम्मेदवारी मनोनयन विरुद्ध कस्तो अवस्थामा उजुरी दर्ता गर्न सकिन्छ ? 

– आवश्यक योग्यता नभएको
– गैर नेपाली नागरिक
– नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको
– कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको
– निर्वाचनसम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको
– भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको
– संगठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तत्व ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको
– जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको
– अन्य कसूरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
– प्रचलित कानून बमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर:
– कैदमा बसेकोमा कैद बसेको अवधिभर
– मानसिक सन्तुलन ठीक नभएको
– संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको
– कुनै लाभको पद धारण गरेको
– प्रचलित कानूनले अयोग्य भएको
– प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम कायम रहेको ।

उजुरी कसले दिन सक्दछ ?

– उम्मेदवारी मनोनयनसम्बन्धी उजुरी अन्य उम्मेदवार वा प्रतिनिधिले
– निर्वाचन अनियमितता वा उल्लंघनबाट प्रभावित वा सरोकार राख्ने व्यक्ति वा संस्थाले,
– निर्वाचनको परिणामसम्बन्धी उजुरी निर्वाचनमा विजयी हुने उम्मेदवार विरुद्ध अन्य उम्मेदवारले,

उजुरी कहिलेसम्म दर्ता गर्नुपर्दछ ?

– कसुरबारे थाहा पाउने बित्तिकै उजुरी दर्ता गर्नुपर्दछ । उम्मेदवारी मनोनयन दर्तासम्बन्धी उजुरीका लागि आयोगले २०७९ वैशाख १३ तोकेको छ । निर्वाचनको नतिजासम्बन्धी उजुरीका सम्बन्धमा भने उम्मेदवारले उजुरी गर्नुपर्ने कारण सिर्जना भएको मितिले १५ दिनभित्र सम्बन्धित उच्च अदालतमा दर्ता गर्नुपर्दछ ।

उजुरी दर्ता कसरी गर्ने ?

– निर्वाचन आयोग नियमावली, २०७३ को अनुसूची–३ बमोजिमको ढाँचामा गर्नुपर्ने