म्याग्दी, ५ वैशाख
सत्ता साझेदार पाँच दलीय गठबन्धनमा सकस भएपछि दलहरुले जिल्लामा एकल उम्मेदवार छनोट, सिफारिस र घोषणा गर्न थालेका छन् ।    

 गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले आसन्न स्थानीय तह चुनावमा साझा उम्मेदवार बनाउने सैद्धान्तिक सहमति गरेका थिए ।    

 सहमतिपछि दुई पटक बसेको बैठकमा वडा र पालिका बाँडफाँटमा विवाद उत्पन्न भएपछि ती दलहरुले एकल उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसले दुई र माओवादी केन्द्रले एक स्थानीय तहमा एकल उम्मेदवारी घोषणा गरिसकेका छन् ।    

 बेनी नगरप्रमुखमा कांग्रेसले चिरञ्जीवी शर्मालाई मेयरको उम्मेदवार बनाउने निर्णय शुक्रबार गरेको थियो । माओवादी केन्द्रले आइतबार नै नगरप्रमुखमा शेरबहादुर केसी र धनलाल जैशी तथा उपमेयरमा ज्योति लामिछाने पौडेललाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।    

 माओवादीका बेनी नगर इञ्चार्ज विनोद केसीले गठबन्धनभित्र समय घर्किदासम्म पनि सहमति नभएपछि एकल उम्मेदवार छनोट गर्नुपर्ने अवस्था आएको बताउनुभयो । “सहमतिको अन्तिम प्रयत्न अझै पनि छ”, उहाँले भन्नुभयो, “समय घर्किसकेकाले आफ्नै तयारी गर्नुपर्छ भनेर उम्मेदवार घोषणा गरिएको हो ।”    

 कांग्रेसले मालिका गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा वर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई दोहो¥याउने घोषणा गरेको छ ।    

 कांग्रेस म्याग्दीका सचिव हीराबहादुर पुनले कसले कति र कुन पालिका, वडाको नेतृत्वमा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल अड्किएको बताउनुभयो । कांग्रेसले अघिल्लो चुनावमा आफूले जितेका पालिका आफूसँगै राखेर एमालेले जितेको थप ५० प्रतिशत वडा र पालिका छोडेर बाँडफाँट गर्ने प्रस्ताव गरेका थिए ।    

 माओवादी केन्द्रले कम्तीमा दुई स्थानीय तह र १८ वडाध्यक्षमा दाबी गरेका थिए । नेकपा एकीकृत समाजवादी र जसपाले पनि एक÷एक पालिकाको नेतृत्व दाबी गरेका थिए ।    

 अन्नपूर्ण, रघुगङ्गा, मङ्गला र धौलागिरि गाउँपालिकामा सिफारिस भएका उम्मेदवार छनोट र सार्वजनिक गर्ने चरणमा कांग्रेस छ । माओवादी केन्द्रका नेताहरुले बेनीसँगै अन्य पालिकामा एकल उम्मेदवार सार्वजनिक गर्ने तयारी भएको जनाएको छ ।     

 गठबन्धनका प्रमुख दलले संवाद अन्त्य र सहमति भङ्ग भएको घोषणा गरिनसकेकाले एकले अर्कालाई गलाउन खोजेको देखिन्छ । पछिल्लो तीन दिनयता छलफल नगरेका उनीहरु केन्द्रको निर्णयको प्रतीक्षामा छन् ।    

एमालेका चार पालिकाको नेतृत्व सर्वसम्मत    

 एमालेले म्याग्दीका चार गाउँपालिकाको अध्यक्ष र दुई पालिकाका उपाध्यक्षका उम्मेदवार सर्वसम्मत छनोट गरेको छ । मालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा, मङ्गलाको अध्यक्षमा सतप्रसाद रोका, रघुगङ्गाको अध्यक्षमा प्रेमबहादुर कार्की र अन्नपूर्णको अध्यक्षमा भरत पुनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमाले जिल्ला अध्यक्ष देवेन्द्र केसीले जानकारी दिनुभयो ।    

 अन्नपूर्णको उपाध्यक्षमा दिवा पुन र रघुगङ्गाको उपाध्यक्षको उम्मेदवारमा यामकुमारी गर्बुजाको नाम सर्वसम्मत सिफारिस भएको छ । बेनी नगरप्रमुख मेयरको उम्मेदवारमा एमालेबाट प्रमोद श्रेष्ठ, सुरत केसी, सन्तोष रावल र नारायण जिसीको नाम सिफारिस भएको छ । उपमेयरमा पशुपति शाही, गौरी थापामगर, विष्णु गुरुङ र भावना पौडेलको नाम सिफारिस भएको छ ।    

 धौलागिरिको अध्यक्षको उम्मेदवारमा वर्तमान अध्यक्ष थमसरा पुन, प्रदेश कमिटी सदस्य रेशम भण्डारी, गाउँपालिका कमिटीका अध्यक्ष होमबहादुर थापा र गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले दाबी गरेका छन् । मङ्गलाको उपाध्यक्षमा वर्तमान उपाध्यक्ष सिर्जना केसी र पेमा अधिकारीले दाबी गरेका छन् ।