८० अर्ब अनुदान लिने सरकारको निर्णय, यूएसआईडीबाट

काठमाडौँ, २ बैशाख ।
सरकारले अमेरिकाकाे अन्तर्राष्ट्रिय विकासका लागि सहयाेग निकाय (यूएसआईडी) संग अनुदान सहायता लिने भएको छ । चैत ३० गते बसेको मन्त्रीपरिषदको निर्णय सुनाउंदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यूएसएआईडीबाट प्राप्त हुने ६५९ मिलियन अमेरिकी डलर अर्थात करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।
त्यस्तै विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने निर्णय मन्त्रिपरिषदले गरेको छ । मन्त्रिपरिषद्ले फुकाेट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको झन्डै दुई सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।
मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवनलगायतका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने र कर्जन्हा नगरपालिका सिरहालाई प्रशासकीय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्