काठमाडौँ, १९ फागुन

काठमाडौँ महानगरपालिकाले सूर्यविनायक नगरपालिकालाई एक र कामपा वडा नं ६ मा सञ्चालित स्तुपा सामुदायिक अस्पताललाई दुई गरी तीन भेन्टिलेटर सहयोग गरेको छ ।    
    
 सूर्यविनायक नगरपालिकाले आवश्यकताका आधारमा उक्त भेन्टिलेटर उपयोग गर्नेछ । कामपासँग भगिनी सम्बन्ध स्थापना भएको तिब्बतको ल्हासा नगरले पाँच थान भेन्टिलेटर उपलब्ध गराएको थियो । तीमध्ये तीन भेन्टिलेटर अस्पताललाई हस्तान्तरण गरिएको हो ।    
    
 भेन्टिलेटर उपलब्ध गराएपछि प्रतिक्रिया दिँदै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँका सबै नगरसँग नगर–नगर साझेदारी कार्यक्रम गरेको बताउनुभयो । पाँच प्रदेशका पाँच नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेर पार्क तथा हरियाली बढाउने योजनाका लागि रु एक करोड ५० लाखका दरले सहयोग गरिएको उहाँले जानकारी गराउनुभयो ।    
    
 बुधबार आयोजना भएको कार्यक्रममा सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाले नगर अस्पताललाई कामपाले भेन्टिलेटर उपलब्ध गराएपछि आकस्मिक सेवाका लागि सहज भएको प्रतिक्रिया दिनुभयो । यसअघि कोरोना महामारीको समयमा पनि कामपाले काठमाडौँ उपत्यकाका विभिन्न १२ अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।