दमौली, १५ फागुन
मिर्गौलापीडित रामचन्द्र पण्डितलाई कास्कीका कर्मचारीका तर्फबाट करिब रु दुई लाख सहयोग गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्यसमेत रहनुभएका उहाँलाई सो सङ्गठन कास्कीले रु एक लाख ९५ हजार सहयोग गरेको हो ।    
    
सङ्गठनको ११औँ जिल्ला अधिवेशनका अवसरमा उक्त रकम उहाँलाई हस्तान्तरण गरिएको छ । कास्कीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीबाट सङ्कलन गरिएको रकम पण्डितको उपचारमा सहयोग पु¥याउन हस्तान्तरण गरिएको निजामती कर्मचारी सङ्गठन तनहुँका अध्यक्ष रुद्र ठकुरीले जानकारी दिनुभयो ।    
    
बिरामी पण्डितलाई शुक्रबारमात्रै निजामती कर्मचारी सङ्गठन तनहुँले पनि रु ५० हजार ८४५ सहयोग गरेको थियो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अधिकृत पण्डितको केही समयअगाडि स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो । निजामती कर्मचारी सङ्गठनले पण्डितको उपचारमा सहयोग गर्न सबैसँग अपिल गरेको छ ।    
    
कोलकातास्थित अस्पतालमा पण्डितको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको र आर्थिक स्रोत अभाव भएपछि सबैसँग सहयोगको अपिल गरिएको अध्यक्ष ठकुरीले जानकारी दिनुभयो । सहयोगका लागि निजामती कर्मचारी सङ्गठन तनहुँको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं ३५२०१०००००४६३००१ वा माछापुच्छ«े बैंकमा रामचन्द्र पण्डितको नाममा रहेको खाता नं १२३६५२४१११३३९०११ मा रकम जम्मा गर्न सकिनेछ ।    
    
म्याग्दे गाउँपालिकाद्वारा सार्वजनिक बिदा     
    
यहाँको म्याग्दे गाउँपालिकाले मगर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गााउँपालिकाअन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने जनाइएको छ ।    
    
मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताउनुभयो । गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास छ । गाउँपालिकामा मात्रै सात हजारभन्दा बढी मगर समुदायको बसोबास छ । जिल्लाका स्थानीय तहले बिभिन्न पर्व र अवसरमा सार्वजनिक बिदा दिँदै आएका छन् ।    
–––