राझा, १२ फागुन
बाँकेको खजुरा गाउँपालिकाले सुरक्षित आवास बनाइदिएपछि विपन्न तथा मजदुरी गरी जीविकोपार्जन गर्दै आएका सर्वसाधारणको मुहारमा खुसी छाएको छ ।    
    
 “घर पाइएला भन्ने सोचेका पनि थिएनौँ, पक्की घरमा बस्न पाइयो, दिनभर मजदुरी गरे पनि साँझ आफ्नै घरमा सुत्न पाइने भयो”, गाउँपालिकाले बनाइदिएको घरमा बस्दै आएका प्रेम चौधरीले भन्नुभयो, “अब आफ्नै घरमा बसेर दुःख सुखको जीवन बिताउन पाइने भयो ।”    
    
 गाउँपालिकाले बनाइदिएको घरमा बस्दै आएका प्रेमजस्ता १६ परिवारमा सुरक्षित आवास पाएपछि यतिबेला खुसियाली छाएको छ । गाउँपालिकाले दुई कोठा, एक भान्छा र एउटा बरन्डा भएको चिटिक्कको घर बनाएर दिएपछि विपन्न परिवारमा खुसियाली छाएको हो ।    
    
 खजुरा गाउँपालिकाले तराई समृद्धि कार्यक्रमअन्तर्गत खजुरा–३ बी बोरिङ गाउँमा विपन्नका लागि सामूहिक आवास बनाइदिएको छ । एक बिघा जमिनमा २१ घर बनेका छन् । सोह« घरपरिवारले घरमा बस्न सुरू गरिसकेका छन् । घरमा बस्नका लागि गाउँपालिकाले पालिकाभित्र रहेका घरविहीन विपन्नको निवेदन माग गरी त्यही निवेदनका आधारमा घरबास नभएका व्यक्तिलाई सामूहिक आवासमा राखेको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।    
    
 उहाँका अनुसार रु एक करोड ७६ लाखको लागतमा सामूहिक आवासमा २१ घर बनेका हुन् । “घर नभएका विपन्नलाई बसोबासको व्यवस्था मिलाएका छौँ”, अध्यक्ष कक्षपतिले भन्नुभयो, “विपन्न परिवारको सुरक्षा र जीविकोपार्जनका लागि स्थानीय सरकार सारथी बनिरहेको छ ।”    
    
 पालिकाले बनाइदिएका घर बस्ने व्यक्तिको नाममा नहुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिनुभयो । घरबास उनीहरूको नाममा नभए पनि आफ्नो घरबास नबनाउँदासम्म बस्न दिने र सामूहिक आवासमा बसेका व्यक्तिलाई पालिकाले रोजगारीको अवसर पनि दिने उहाँको भनाइ छ ।    
    
 गाउँपालिकाले अघिल्लो वर्ष सुकुम्बासीलाई २० घर बनाइदिएको थियो । यसपालि सुकुम्बासीलाई नभई घर नै नभएका व्यक्तिका लागि सामूहिक आवास बनाएको छ । गाउँपालिकामा रहेका घरविहीन मानिसलाई सामूहिक आवासमा राख्ने र उसले सकेसम्म पालिकाभित्र तथा नभए अन्यत्र मजदुरी गरे पनि साँझमा सुरक्षित तरिकाले बस्न पाउने व्यवस्था मिलाइएको छ ।