बागमती, १० फागुन
कृषिमा यान्त्रिकरण गर्ने र लागत खर्च घटाउने उद्देश्यले मकवानपुर जिल्ला अन्तर्गत रहेको थाहा नगरपालिकाका किसानलाई ३६ वटा मिनिटिलर वितरण गरिएको छ ।    
    
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यावन्यन एकाइ मकवानपुरको आयोजनामा थाहानगरका किसानलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरिएको सो परियोजनाले जननाएको छ ।    
 कृषि सहकारी, किसान समूह तथा व्यक्तिगत कृषिफर्ममा आवद्ध किसानलाई अनुदानमा मिनिटिलर वितरण भएको हो । थाहा नगरपालिका–४ का वडा सदस्य नारायण लामाको प्रमुख आतिथ्यतामा भएको सो वितरण कार्यक्रममा तरकारी जोन मकवानपुरका प्रमुख कृष्णप्रसाद पौडेलले कृषिमा यान्त्रिकरण गर्न र स्वरोजगारको सिर्जना गर्नका लागि जोन तत्पर रहेको बताउनुभयो । हाल तरकारी जोनले थाहानगरपालिका, ईन्द्रसरोवर गाउँपालिका, हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिकामा काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।