काठमाडौं

 राप्रपा नेपालले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामा अमेरिका र चीनलाई विश्वासमा लिएर कार्यान्वयन गर्न माग गरेको छ ।

एमसीसीमा आम नेपाली जनताको आशंका तथा चीन र अमेरिकाको चासोलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै राप्रपा नेपालले सबैलाई विश्वास लिन अपिल गरेको हो ।

आइतबार सम्पन्न पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले नेपाली जनतामा व्याप्त आशंकाको निराकरण तथा अमेरिका र चीन दुवैलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयन गर्न सरकार तथा सम्बद्ध सबै दलहरुलाई आग्रहसमेत गरेको छ ।

नेपाल बाह्य शक्तिको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने खतरा औंल्याउँदै राप्रपा नेपालले प्रमुख दलहरुको अकर्मण्यता र अदुरदर्शीताको परिणामस्वरुप एमसीसी अनावश्यक विवादको बन्धक भएको निष्कर्ष निकालेको छ ।  

बैठकले पटक-पटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

स्थानीय निकायको निर्वाचनको तयारीको लागि बैठकले सुशील कुमार श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।

सुरेश आचार्यको संयोजकत्वमा सात सदस्यीय घोषणा पत्र तयारी समिति गठन गरेको छ ।