म्याग्दी, ७ फागुन  
जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिका–३ मल्लाजस्थित विद्याज्योति माविको भवन निर्माणका लागि विकास बेल्जियमले करिब रु एक करोड सहयोग गरेको छ ।    
    
 विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे कक्षा कोठा भवन बनाउन लागिएको हो । विकास बेल्जियमका स्थानीय समन्वयकर्ता टेकबहादुर बरुवालले विद्यालयको भवन बनाउन गाउँपालिकालाई रु ९७ लाख ३६ हजार उपलब्ध गराएको जानकारी दिनुभयो ।    
    
 रु दुई करोड १३ लाख ९५ हजार ७६२ लागत अनुमान गरिएको भवन निर्माणका लागि करसहित रु एक करोड ६० लाख ७२ हजार ९७२ मा त्रिशक्ति कन्ट्रक्सन इन्जिनियरिङले ठेक्का लिएको गाउँपालिकाका इन्जिनियर सुनिल बानियाले बताउनुभयो । २०७८ साउन ५ गते ठेक्का सम्झौता भएको भवन २०७९ को असार १० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दुई तले भवनको कूल खर्च हुने रकमको ७५ प्रतिशत विकास बेल्जियम र २५ प्रतिशत गाउँपालिकाले ब्यहोर्ने सम्झौता भएको थियो । संस्थाले ब्यहोर्नेमध्येको खर्च गाउँपालिकालाई उपलब्ध गराएको बरुवालले बताउनुभयो ।    
    
 उहाँका अनुसार ढलान सकिएको भवनको प्लास्टर, रङरोगन, विद्युत्, फर्निचरका काम बाँकी छन् । ६० प्रतिशत निर्माण सकिएको उहाँले बताउनुभयो । प्रअ रघुनाथ आचार्यका अनुसार कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल २७० विद्यार्थी छन् । विसं २००४ मा स्थापना भएको विद्याज्योति धौलागिरि क्षेत्रकै पुरानो विद्यालय मानिन्छ ।    
    
 विकास बेल्जियमले यसअघि धौलागिरि गाउँपालिकाका–७ मा ताकम माविको भवन र बेनीको कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजसम्म पदमार्ग निर्माण गरेको थियो । तीन चरणमा रु ८६ लाख नौ हजार २५२ को लागतमा एक हजार ९५२ मिटर पक्की पदमार्ग निर्माण हो । ठाडो भिरको उकालोमा सिँढी र रेलिङसहितको पदमार्ग निर्माण भएपछि बेनी बजारका साथै बगरफाँट वारीबेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवतजावतमा सहज भएको छ ।    
    
पाँच लाखको सामग्री सहयोग    
    
 म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माविमा पूर्वविद्यार्थीमार्फत शैक्षिक, सूचना प्रविधिका सामग्री सहयोग प्राप्त भएको छ । हाल जापानमा रहेका पूर्वविद्यार्थी पूर्णबहादुर गर्बुजाले रोटरी क्लब जापानको समन्वय र सहकार्यमा रु पाँच लाख मूल्य बराबरका सूचना प्रविधिका सामग्री उपलब्ध गराउनुभएको हो ।    
    
 एक थान स्मोर्ट बोर्ड, दुई थान प्रोजेक्टर, दश थान सिसीटिभी क्यामेरा, हिलट्याङकी, प्रिन्टर, एलइडी मनीटरलगायतका सामग्री उपलब्ध गराउनुभएको प्रअ दुतबहादुर गर्बुजाले बताउनुभयो ।    
    
 त्यसैगरी विसं २०६६ को एलएलसी परीक्षामा महादेव माविबाट सहभागी भएका पाँच विद्यार्थीले १ देखि कक्षा १० सम्मका ११५ विद्यर्थीलाई एक÷एक जोर जुत्ता, मोजा सहयोग गर्नुभएको छ । बेगमै व्यवसाय गरेर बसेका रमेश परियार, बेलायतमा रहेका रोशन फगामी, अष्टे«लियाका भूपी गर्बुजा, दीपक फगामी (पोर्चुगल) र धनबहादुर तिलिजा (अमेरिका)ले शुक्रबार सहयोग गर्नुभएको प्रअ गर्बुजाले बताउनुभयो ।