प्रचण्डलाई ओलीले भने- मलाई हटाउन एमसिसी पास गर्छौं भन्नुभयो, तपाईंहरूसँग बहुमत छ जे गर्ने हो गर्नुस्

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउन अमेरिकनहरूसँग एमसिसी पारित गर्छु भनेर गरेको वाचा पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका छन्।
बिहीबार साँझ प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसिसीबारे निर्णय गर्ने आग्रह गरेका थिए। जवाफमा ओलीले एमसिसी पारित गर्ने जिम्मेवारी सरकारको रहेको बताए।
‘मलाई हटाउन तपाईंहरूले एमसिसी पारित गर्ने भन्नुभयो। त्यसपछि पारित गर्नका लागिसमेत समय माग्नुभएको थियो। तपाईंहरूसँग बहुमत छ। यसबारे मलाई सोध्न जरूरी छैन भनेर अध्यक्षले भन्नुभएको छ,’ एमालेका एक नेताले सेतोपाटीसँग भने,’प्रचण्डलाई गठबन्धन पनि नटुटोस् अनि एमालेको समर्थनमा एमसिसी पारित होस् भन्ने छ। एमालेले एमसिसी पारित गरेपछि त्यसको विरोधमा चुनावमा जान पाइन्छ भन्ने लागेको होला। उहाँको दोहोरो स्वार्थ पूरा हुन सक्दैन।’
एमसिसीबारे कुरा गर्न भनेर प्रचण्डले ओलीलाई फोन गरेको विषयबारे एमाले प्रचार प्रसार विभागका उपप्रमुख बिष्णु रिजालले सामाजिक सञ्जालमा समेत राखेका छन्।
उनले लेखेका छन्: एमसिसीमा तपाईंले निर्णय नगरी भएन भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भन्ने वचन दिनुभएको छ। हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ। अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन्। पहिले आफूले निर्णय गर्नुस्; नेकपा (एमाले) त निर्णय गरिहाल्छ।
यसअघि बिहीबार बिहान अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, ओली र प्रचण्डलाई एमसिसी संसदबाट पारित गर्नेबारे टेलिफोन गरेका थिए।
तीनै जना नेताहरूसँगको कुराकानीमा उनले एमसिसी फेब्रुअरी २८ सम्म संसदबाट पारित हुनुपर्ने बताएका थिए।
प्रतिक्रिया दिनुहोस्