२६ माघ, काठमाडौं

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अबको केही दिनभित्रमा सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिइने बताएका छन् ।

बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले तेस्रो चरणमा सबै नेपाली नागरिकलाई बुस्टर डोज खोप दिइने बताएका हुन् ।

अबको केही दिनभित्र नै तेस्रो चरणको रुपमा सम्पूर्ण नेपाली नागरिकलाई बुस्टर डोज दिने सरकारको योजना रहेको उनको भनाइ थियो ।

विद्यार्थीहरुलाई खोपको सहजताका लागि विद्यालयलाई नै खोपकेन्द्र बनाइएको र आउने दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने भन्दै उनले विद्यार्थीहरुलाई खोप लगाउन प्रेरित गर्न विद्यार्थी संगठनले भूमिका खेल्नुपर्नेमा जोड दिए ।