शिक्षामा दशवर्षे योजना बनाउँदै खजुरा

राँझा, २५ माघ
बाँकेको खजुरा गाउँपालिकाले शिक्षा क्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरेको छ । गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षासँग सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा शिक्षा क्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबै पक्षलाई समेटी नमूना दशवर्षे कार्ययोजना निर्माण गरिने छ । त्यसका लागि गाउँ आवधिक योजना कार्यपालिकाले अनुमोदनसमेत गरिसकेको छ । गाउँपालिकाले सङ्घ र प्रदेशस्तरबाट समेत शिक्षाको विकासका लागि उल्लेख्य मात्रामा लगानी गराउन सफल भएको जानकारी दिँदै अध्यक्ष कक्षपतिले शैक्षिक नेतृत्व गर्ने व्यक्तिले अब प्रतिफल ल्याउने कुरामा जोड दिनुपर्ने बताउनुभयो ।
बाँकेको आठवटै स्थानीय तहमध्ये खजुराको शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन भएको खजुराका नागरिक अगुवा गेहेन्द्रप्रसाद धितालले दाबी गर्नुभयो । उहाँले गाउँपालिकाकै शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउन गहन छलफल गरी दशवर्षे कार्ययोजना निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । संस्थागत विद्यालयको पाठ्यपुस्तक कम्तीमा पाँच वर्षसम्म परिमार्जन नहुने गरी कार्ययोजना निर्माण हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “सामुदायिक र संस्थागत विद्यालयमा एकरुपता ल्याउनुपर्दछ ।”
खजुरा गाउँपालिकाका राजनीतिक सल्लाहकार भीम वलीले कोरोना सङ्क्रमणका समयमा पनि एकै तहका शिक्षा कार्यलाई अगाडि बढाउने कार्य गाउँपालिकाले गरिरहेको जानकारी दिँदै विपद्का समयमा पनि कसरी पालिकालै शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भन्नेबारेमा समेत योजना निर्माणमा ध्यान पु¥याउन सुझाव दिनुभयो ।
गाउँपालिका शिक्षा समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष एकमाया विकले तीन दिनसम्म कार्यशाला सञ्चालन गरेर दशवर्षे योजनाको तयारी प्राविधिक विषयगत समिति गठन, योजना तर्जुसँग सम्बन्धित अवधारणा, स्थानीय परिवेशको आवश्यकता पहिचान गरी पूर्व निर्माण गरिएको गाउँपालिका आवधिक योजनाका विषयमा छलफल गरी विषयगत क्षेत्रको मस्यौदा लेखनकार्य गरिने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्