केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल भएको छ।

बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो। 

बैठकमा निर्वाचन केन्द्रीत सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए।

सुरक्षा निकायहरुबाट आवश्यक सुझाव लिएर अगाडि बढिने  उनले बताए।

‘समय समयमा यो बैठक बसिरहन्छ। बैठकले समसामयिक सुरक्षास्थितिबारे छलफल गर्छ र त्यो बारेमा आज पनि छलफल भयो’, उनले भने,  ‘अहिलेका हाम्रा सुरक्षा इस्यूहरु के हुन्, ती इस्यूहरुलाई कसरी सम्बोधन गर्ने विषयमा छलफल भयो। र प्रधानमन्त्री र निर्वाचन आयोगबीच जेठ ४ गते चुनाव गर्ने अनौपचारिक रुपमा कुरा भइराखेको रैछ। अब हामीले सुरक्षा कसरी निर्वाचनमा, कुन किसिमले सुरक्षा गर्ने, सबै सुरक्षा निकायबाट त्यसको फिडव्याक लिएर अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो।’

निर्वाचन केन्द्रीत सुरक्षा योजना कसरी तयार गर्ने,  जनशक्तिको व्यवस्थापन लगायतको विषयमा पनि छलफल  भएको प्रवक्ता पोखरेलले बताए।

बैठकमा देशको समसामयिक सुरक्षा स्थितिको सम्बन्धमा पनि छलफल गरिएको उनले जानकारी दिए।